मगर समाजमा प्रचलित घाँटु नृत्य

मगर समाजमा प्रचलित घाँटु नृत्य

–पदम श्रीस मगर

नेपालका आदिवासी जनजातिहरू मध्ये मगर जाति जनसंख्याको हिसाबले एक प्रमुख जाति हो । मगराँत क्षेत्रमा उनीहरू कहाँबाट, कसरी आए भन्ने सन्दर्भमा स्वदेशी, विदेशी विद्वानहरू को विभिन्न मत, तर्क र विश्लेषणहरू पाइन्छन् । ती आधारहरू वास्तवमै कतिसम्म सत्य छ वा थियो भन्ने बारे हामी मगरहरूले आफंै खोज अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउने र अध्ययन, अनुसन्धानमा सक्रियता नदेखाएसम्म चारजना अन्धाले हात्तीलाई छामेर आ–आफ्नै ढंगले व्याख्या गरे जस्तै हुनेछ । मगर जातिको आफ्नै संस्कृतिबारे पनि हालसम्मका मगराँती लोकसंस्कृतिका सर्जकहरू को को थिए, कति पुस्ता अघिदेखि हाम्रा संस्कृतिहरू प्रचलनमा आइरहेका छन् भन्ने सन्दर्भमा पनि एकीन थाहा हुन सकेको छैन र त्यसका लिखित इतिहासहरू पनि हामीसंग छैनन् । यस सम्बन्धमा पनि अन्य जातजातिका संस्कृतिविद अथवा विदेशी विद्वानह रू ले लेखिदिएका मित्थक कै भरमा हामी विश्वास गर्न विवश छौं । हामी मगर जाति आफैंले आफ्नो इतिहास र संस्कृतिको विषयमा कलम चलाउन थालेको साढे पाँच दशक मात्र भएको छ । यति छोटो अवधिमा मगर समाजभित्र रहेका लोकसंस्कृति, रीतिरिवाज जस्ता गहन विषयमा खोज अनुसन्धान के कति गर्न सकियो भनेर मूल्याङ्क न गर्ने समय अझै भइसकेको छैन ।

डा.केशरजंग बरालमगरका अनुसार “मगरहरू पहाडको डाँडाकाँडा, भीरपाखा, पखेरामा जन्मेर, हुर्केर आर्थिक विषमताको जाँतोमा पिल्सिएको भएता पनि यिनीहरू को जीवन निरस हँुदैन । आफ्नै जातीय नाचगानमा होमिएका र झुम्मिएका हुन्छन् । प्रायः मगरहरू मेला, घाँसपात जाँदा, पँधेरा, जात्रा, चाडपर्वमा समय अनुसारका गीत र नृत्यमा रमाइरहेका हुन्छन् । सुदूर पश्चिमको उत्तरी क्षेत्रका मगरहरू छोट्टी (केटा र केटी मिलेर बस्ने रोदी घर जस्तै बस्ने परम्परा पाइन्छ । पाल्पा, तनहूँ, स्याङ ्जाका मगरहरू धान रोप्दा बाली (असारे गीत र कोदो रोप्दा, गोड्दा सालैजोमा, भदौ महिना लागेपछि झोरा (मगरहरू ले तिज गीतलाई झोरा भन्दछन्) असोज, कार्तिक, मंसिर, पौषसम्म सोरठी र नचरीमा, माघ, फागुन, चैत्र, वैशाख, जष्ेठ, असारसम्म कौ¥हा र घाँटुमा भुलेका हुन्छन् । यसरी मगरहरू बाह्रै महिना जति दुःख कष्ट भोग्न परे तापनि सामयिक, सामाजिक, धार्मिक लोकनृत्यमा भुलेर जहिले पनि हँसिला देखिन्छन् ।” यसकारण के भन्न सकिन्छ भने मगरहरू ले लोकसंस्कृतिलाई जन्मजात संस्कारको रूपमा लिएरै आएका हुन्छन् । त्यसैले मगर समाज लोकसंस्कृतिका जननी हुन् भन्दा अत्युक्ति हुँदैन ।

हुन त प्रकृतिप्रदत्त सबै प्राणीहरू ले आफ्ना नित्यकर्म र शारीरिक आवश्यकता (क्षुधा) शान्त पारेपछि आ–आफ्नै जीवनवृत्ति अनुसार दिन वा रातमा एकपटक अवश्य पनि आफ्नो संस्कृतिको रूपमा संस्कारजन्य मनोरञ्जनको स्वाद लिएको नपाइएको चाहिं होइन । त्यसमा मानव जाति चेतनशील प्राणी भएकै कारणले विविध जाति, नश्लभित्र विविधतापूर्ण लोकसंस्कृतिहरू छन् । त्यसमा पनि मगर जाति वर्षको बाह्रै महिना (महिनै पिच्छ)े विविधखाले आफ्नै मौलिक संस्कार र लोकसंस्कृतिमा मग्न हुन्छन् । ती विविध प्रकारका लोकसंस्कृतिहरू भित्र मगर समाजमा अति लोकप्रिय रहेको नृत्य – घाँटु पनि एक हो ।

घाँटु नृत्य मगर समाजमा कहिले प्रारम्भ भयो भन्ने सम्बन्धमा घाँटु विज्ञहरू बाट अहिलेसम्म एकिन तथ्य प्रकाशमा आएको छैन । मगर समाजमा रहेका संस्कार र लोकसंस्कृतिहरू बाबुबाजेबाट छोरानातिले जानिराख्ने र छोरानातिबाट त्यसपछिका छोरानातिले सिक्ने, सिकाउने परम्परा रहेको पाइन्छ । यसरी पुर्खाले गरिआएका परम्परागत कार्यहरू पुस्ता–दरपुस्तासम्म प्रचलनमा रहेको देखिन्छ तर वर्तमान समयमा पश्चिमा संस्कृतिको प्रभावले गर्दा मगरहरू को धेरैजसो अलिखित लोकसंस्कृतिहरू लोप भएका छन् र पाइएकाहरू पनि मौलिक स्वरूपमा छैनन् । त्यसको स्वरूप, लय, भाका, समय, सान्दर्भिकता आदि सवै पक्षमा परिवर्तन भैसकेका छन् । घाँटु नृत्यको प्रादुर्भाव के, कसरी भएको रहेछ भनेर यस लेखकले अग्रज मगर संस्कृतिविदहरू संग सोधखोज र सुझाव माग्दै यस नृत्यसम्बन्धी अध्ययनको क्रममा केही जिल्लाका मगर गाँउहरू, घाँटुसम्बन्धी विज्ञहरू को कृति अध्ययन गरेको थिएँ । अध्ययन पश्चात् नेपालको लोकसंस्कृति घाँटुसम्बन्धी एउटा सानो पुस्तक पनि हालसालै प्रकाशनमा ल्याएको छु । विस्तृत अध्ययनका लागि मेरो “नेपालको लोकसंस्कृति घाँटु नृत्य” भन्ने 

पुस्तक हेर्न सबैमा आग्रह गर्दछु । पुस्तकमा नेपालका कुन कुन जातजातिमा घाँटु नृत्य रहेछ भन्ने तथ्यहरू लाई वर्णनात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । गुरुङ्ग जातिमा प्रचलित रहेको घाँटु संस्कृति शाहवंशीय राजाहरू का पूर्वज मानिएका कालु शाहका गर्भे पुत्र प्रशुराम र रानी यम्मावतीको जीवनकथामा आधारित रहेको पाइएको छ र उक्त संस्कृतिका सर्जक भादु गुरुङ्ग, खानी गाँउ (लमजुङ ) लाई मानिएको छ । बराम, कुसुन्डा लगायत अन्य जातजाति भित्र पाइने घाँटु संस्कृतिको प्रादुर्भावबारे गहिरो खोज अनुसन्धानको पनि उत्तिकै खाँचो छ ।

मगर समाजमा घाँटु संस्कृतिको प्रारम्भ कहाँ, कहिले र कसरी भयो भन्ने बारे अग्रज लेखकहरू ले यो संस्कृति दुई÷चार सय वर्ष अघिको मात्र संस्कृति नभएको उल्लेख गरेका छन् । अतः पौराणिक कालदेखि नै यो मगर जातिको आफ्नो लोकसंस्कृति हो । मगर समाजमा पाइने घाँटु र गुरुङ लगायत अन्य जातजातिमा पाइने घाँटुमा ठूलो भिन्नता छ । मगरहरू ले अध्यात्मिक तथा दैवीशक्तिमा आधारित सति घाँटु मात्र नाँच्ने, नचाउने गर्दछन् । घाँटु देवता नचढेको कन्या नृत्यमा भाग लिन अयोग्य मानिन्छ । अनुसन्धानको क्रममा नवलपरासीका एकजना बयोबृद्ध यमनारायण थारू गुरौंसँग जिज्ञासा राख्दा उनले – “तपाइ हामी सबै एउटै बृक्षका हाँगाबिंगा हों, समय र परिस्थितिले गर्दा तपाईहरू यो पहाडलाई नाघेर माथितिर लाग्नुभयो, हामी यहीं तराईमा दुःखकष्ट गरेर बस्यौं, हामी थारू र मगरहरू यस क्षेत्रमा बसोवास गर्नु पूर्व यो नृत्य मगध (भारत, जो परापूर्वकालमा मगर जातिको एक राज्य) मा उत्पत्ति भएको कुरा हामीले पनि पितापुर्खाबाट सुन्दै आएको” कुरा बताएका थिए ।

खोजकै क्रममा नवलपरासीको पहाडी क्षेत्र धोवादीका तिलबहादुर ठाडामगरले घाँटु नृत्यबारे “यो संस्कृति हाम्रो क्षेत्रमा कहिलेदेखि प्रचलनमा आयो, त्यसको लिखित तथ्य, प्रमाण केही छैन । यो अघिका पूर्वजहरूबाट पुस्ता–दरपुस्ता चल्दै आएको छ । रुद्रपुरगढीका मगर राजा रुद्रसेनले घाँटु मगाई आफ्नो दरवारमा नृत्य गराउँथे भन्ने कुरा बुढापाकाहरू बाट सुनिदै आएको” भनेका थिए । यस क्षेत्रमा घाँटु नृत्य गराउँदा ३ देखि बढिमा ११÷१३ जनाको संख्यामा अविवाहित मगर कन्याहरू ले मात्र भाग लिने गर्दछन् । यस नृत्यको खोज, अनुसन्धानबाट हालसम्मको निष्कर्षमा के देखिन्छ भने मगर समाजको घाँटु संस्कृतिको प्रामाणिकता मित्थक, कथ्य, जनश्रुतिमा आधारित रहेको पाइएको छ । कारण, यसका आधिकारिक लिखित प्रमाणहरू हालसम्म प्राप्त छैनन् । साथै, यो नृत्य आध्यात्मिक र दैवी शक्ति (अदृश्य शक्ति) मा आधारित देखिन आएको छ । सति घाँटुलाई मगर जातिले मात्र अंगालेको देखिन आएकोले घाँटु मगर जातिको पौराणिक र मौलिक संस्कृति भएकोमा अब कुनै द्विविधा छैन । अस्तु ।

(लेखक घाँटु संस्कृतिका अध्येता एवं नेपाल मगर संघ, बागलुङका जिल्ला अध्यक्ष हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *