मगर जातिको संस्कार तथा संस्कृति

मगर जातिको संस्कार तथा संस्कृति

डा. गोविन्द प्रसाद थापा

पृष्ठभूमि

प्रा.डा. प्रेमकुमार खत्रीबाट सम्पादित नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा किङगरिया, चमार, जिरेल, तामाङ, धोबी, नुनिया, बनकरिया, समेरा, हलखोर, अवधी, खस, किरात राइ, खसब्राह्मण, गुरूङ, थारू, नेवार, धिमाल, राजवंशी, मेचे, गन्गाइ, उराँव, किसान, मगर, मुस्लिम, याक्थुम्बा, शेर्पा, जातिका संस्कार संकृतिका बारेमा सामग्री छापिएका छन् । मेरो यो लेखमा मगर जातिको संस्कारका बारेमा छोटो लेख प्रकाशित भएका छन् ।

मगर जाति नेपालको तेस्रो ठूलो जनसंख्या तथा आदिवासी जनजाति समुदायकै पहिलो ठूलो जनसंख्या रहेको आदिवासी जनजाति हो । राष्ट्रिय जनगणना २०६८ अनुसार १८ लाख ८७ हजार ७ सय ३३ मगर जातिको जनसंख्या छ । मगर जाति मध्यपहाडी भेगमा बसोबास गर्ने बासिन्दा हुन् । स्थानीय नदि तथा स्थान नाम हरु सबै मगर भाषामा हुनु उनिहरुको प्रचीनतको द्योतक हो भन्न सकिन्छ । यिनीहरुको आफ्नै कला संस्कृति, रहनसहन र भाषा छ । मगर क्षेत्र भाषिक हिसाबले तीन क्षेत्रमा बिभाजित छ । कालीगण्डकी पूर्वलाई बाह्र मगरात भन्ने गरिन्छ भने त्योभन्दा पश्चिम अठार मगरात तथा डोल्पा क्षेत्रलाई तराली मगरात क्षेत्रको रुपमा चिनिने गरिन्छ ।

मगर जातिको उत्पत्ति, नामाकरण तथा इतिहासका बारेमा अन्यौल छ । मगरहरुको मूल उत्पत्ति स्थान हिमालय अंचल, उत्तरतिर शीन (Shin) भन्ने देश हो भनिएको छ (राई, २०५१ ः १) । एम. एस. थापा मगरका अनुसार मगरहरु आफनो जीविकाको खोजीमा आजभन्दा चार हजार वर्ष अगाडी मगर लगायतका अन्य मगोलियाई वंशजहरु यस भारतीय महाद्वीपमा प्रवेश गरेको देखिन्छ (थापा, २०५९ ः ४) । इमान सिंह चेमजोङ (Chemjong, २००३, १३८–१४१) आफनो पुस्तक किरात वंशावलीमा मगरजातिको उद्यगम स्थलका रुपमा उत्तरको शीन भन्ने स्थान रहेको र त्यस स्थान बाट शिंङ मगर र चितु मगरको नेतृत्वमा दक्षीण तर्फ आएको लेख्नुहुन्छ । त्यहाँका मानिस हरुले यिनी हरु लाई टाँङसाङ ठापा अर्थात टाडा उत्तर दिशाबाट आएका मानिस भनी सम्बोधन गर्ने गर्थे भनिएको छ ।

किराँतको नालीबेलिमा नारद मुनि थुलुङ (थुलुङ, २०४२ ः १८४–१८५) लेख्नु हुन्छ, अघि मगधलाई मगरात भनिन्थ्यो । त्यहाँका वासीन्दाहरुलाई मगर कहिन्थ्यो । यो मगर शब्दको जन्म मओङ्गबाट, मआङ्गील, मओङ्गली, यिनै मओङ्गोलीहरु पश्चिम आजको इराक, इरान र क्यासोपियनसी प्राचीन कासेप सागर बाट पुग्दै आएर भारतका मगध नामक राज्य स्थापना मगरहरुले गरेका हुन् । यी मगर हरुमा अरु के को भए बुझने आधार नपाइएको तर महाभारतकालमा जरासन्ध नामक एउटा राजा पाइन्छ । जो कौरव पक्षका थिए । तिनलाई मगधपति या मगधका राजा भन्न्थ्यिो । यिनकै राज्य भूमि मगधका मगर हरु उत्तर पटटि लागी पश्चिम नेपाल तर्फ प्रवेश हुंदै समस्त पूर्व नेपालमा बसोवास गर्न पुगेका हुन् । यिनै मगरहरु मध्यका केही मगर सिमरनगढ पट्टि प्रवेश भएर बस्न थालेका थिए भनि उहाँले लेख्नु भएको छ ।

प्रदीप नेपालले खसहरू ककेसियाबाट पूर्व लागेर जुम्ला छिरेका हुन् भने उपत्यकाबाट पूर्व खेदिएका किराँतहरू ह्वाङ्हो सभ्यताका उपज हुन् । मगरहरू खस हुन् । नेपालमा सबैभन्दा लामो समय राज गर्ने समुदाय पनि मगर नै हो । तर, गुरुङ, तामाङजस्ता जातिहरू किराँतहरू आउनुभन्दा धेरै पछि, झण्डै झण्डै दक्षिणबाट नेपाल छिरेका आर्यहरूसँगै उत्तरबाट नेपाल छिरेका हुन् भनेका छन् (नेपाल, गोरखा पत्र, २०७६)। प्राज्ञ डा. जगमान गुरुङले (गुरुङ, २०६७ ः २२) आफनो पुस्तकमा गण्डकीप्रस्रवण क्षेत्रमा तमुवान, र तामाङहरुको बस्ती भएको इलाकादेखि दक्षिणपट्टिको कछाड भागलाई मगरात भनिन्छ, जहाँ मगरहरुको बाक्लो बस्ती पाइन्छ । पूर्वमध्यकालिक मंग्वरविषयलाई नै अहिले मगरात भनिएको छ । यस बाट मगर शब्दको पूर्वरुप मंग्वर रहेछ भन्ने बुझिन्छ भनि उल्लेख गरेका छन् ।

प्रा. बालकृष्ण पोखरेलले मगरजातिका पुर्वजहरु लुकाहरु (लाङ्गाली) लाइ मानेका छन् । उनि लेख्छन्, यी नेपालका लाङ्गा (मगर), काइके (कपिक), माक्वेली(मक्वानी), सुनुवार, रङ्कु(राजी), लाप्चे आदिका पुर्खा प्रतित हुन्छ । (पोखरेल, २०७५ः९४) उनि अगाडी लेख्छन्, नेवार, मगर, राई, लिम्बू, आदि समाजमा विलीन भइसकेका खस हरु पुनः खस बन्लान् भन्न सकिन्न (पोखरेल, २०७५ः४०२) । यसबाट यि जातिहरु पनि खस थिए भन्ने आभास हुन्छ । कतिपयले हंगेरीका मग्यार जातिसंग पनि मगरलाइ जोडेका छन् । पछिल्लो पटक २०७६ भाद्र १४मा मगर अध्ययन केन्द्रले चीनमा पाईने मंगुर (Mongour)जाति सम्वन्धी एउटा गोष्ठिको आयोजना गरेको थियो जसको मूल उद्येश्य चीनको गान्सु प्रान्तका मंगुर जातिका बारेमा जानकारी गराउनु रहेको थियो र सम्भवतः नेपालका मगर र चीनका मंगुर हरुको उदगम स्थल एउटै हुनु पर्छ भन्ने थियो । (थापा, मगर अध्ययन केन्द्र, २०७६)

मगर जातिको जीवन दर्शन

मगर जाति सोझासाझा, कसैलाइ हानि नोक्सानी नपुरयाउने र आफनो काममा इमानदारी पूर्वक लागी रहने जाति हो भन्नु अतिशयोक्ति नहोला । मगरहरु कुनै धर्म मान्दैनन् । यिनिहरु कुनै देवीदेवताको पूजाआजामा भन्दा पनि बढी आफ्नै पूर्खा र प्रकृतिको पूजामा विश्वास गर्दछन् । यिनि हरु प्रकृति पूजक हुन् र प्राकृतिक नियम अनुसार आफना संस्कार तथा संस्कृतिको व्यवहारिक रुपमा पालना गर्दछन् । आफनो जीवनमा आइपर्ने बाधा अडचन हरुको सास रहुन्जेल आसमा विश्वास राख्दै एकतामा बल हुन्छ भनि हाँसीखुशी मिलीजुली जीवन निर्वाह गर्नु नै मगर जातिको जीवन दर्शन हो भन्न सकिन्छ । यो जातिको जीवन दर्शन यिनिहरुको चक्रीय संस्कार, संस्कृति, विश्वास, आचरण तथा व्यवहार बाट स्पष्ट रुपमा देखिन्छ । 

केशरजंग बराल मगरले (बराल, २०६२) मगरहरुको स्वभावलाई मगर समाजको परिवर्तनको आकाँक्षालाइ बोकेर भेडा गोठाला देखि सर्घषरत बर्मन बुढाको जिवन कथामा एक जना विदेशीले मगरहरुको स्वभावलाई यसरी बताएका छन् भनि उल्लेख गरेका छन्, मेरो आत्माले कसैलाई ढात्न, कसैलाई छल्न दिदैन । अरुलाई तलमाथि गर्न दिदैन । बरालका अनुसार, “यो स्वभाव बर्मन बुढाको मात्र होइन, आम मगरहरुको स्वभाव हो । मगरहरुले यसैलाइ आफ्नो आदर्श मान्दछन् । अर्को शब्दमा भन्दा मगरहरुले कसैलाई ढाट्न हुदैन, कसैलाई छल्न हुदैन र कसैलाई अन्याय गर्न हुदैन भन्ने मान्यता राख्दछन् । यसैलाइ नै मैले मगराँत धर्म भन्दै आएकोछु । मगरहरुमा भएको यो स्वभाव र आदर्श, विश्वास नै मगराँत धर्मको मूल आधार हो ।”

मगरजातिको धार्मिक आस्था

आदिवासी जनजाति समुदायमा प्रकृति र प्रकृतिबाट उत्पन्न अदभूत जीव वनस्पति वा निराकार वस्तुमा देवत्व आरोपित गरेर पूजाआजा गर्ने आदिम प्रचलनको निरन्तरता रहेको लेख्नु हुन्छ डा. मीन श्रीस (श्रीस, २०७७ः ३१)। यसबाट उनिहरुमा कूलप्रतिक(Totem) मान्ने एवं पूर्खा पूजाको (Ancestor worship) परम्परा रहेको छ । साँस्कृतिक रुपमा नेपाली समाज झाँक्रीवाद र जीवात्मावादमा आधारित पूर्खापूजा परम्परा, वैदिक हिन्दू र बौद परम्पराको सम्मिश्रण एवं अन्तरघुलन बाट विकसित भएको पाइन्छ । भिन्न भिन्न जातीय समुदायहरुका बीचमा साँस्कृतिक आदान प्रदान, रहनसहनको लेनदेन, र आपसी सदभावले गर्दा नेपाली संस्कृतिमा व्यावहारिक र मनोवैज्ञानिक संगमको विशिष्टखाले साँस्कृतिक सभ्यताको स्वरुप देखा परेको छ । यसको ज्वलंन्त उदाहरणका रुपमा मगर पुजारी रहेका देवस्थलहरुलाई लिन सकिन्छ । प्रकृति पूजा, कूलप्रतीक को लौकिक परम्पराबाट उत्पत्ति र विकास भएका यी मगर पुजारी रहेका देवस्थलहरुमा आफना खानपान संस्कारअनुरुपकै जाँडरक्सी, सुँगुर, कुखुरा, आदि चढाएर पूजा आराधाना गरिने मौलिक प्रचलनले निरन्तरता पाइरहेकै भए पनि समयानुकूल हिन्दु तथा बौद्ध परम्पराका प्रभावहरु समेत भित्रिएका छन् ।

मानिसको स्वभावलाई आफूमा निहित विश्वासले असर पार्दछ । त्यसैले धर्मलाई मानिसको कुनै दैवी शक्ति वा भगवान माथिको  विश्वासको रुपमा  लिन सकिन्छ । धर्म भनेको मानिसको दैवी शक्ति माथि गर्ने विश्वास हो । त्यसैले धर्मलाई जिवनको दर्शन पनि भनिन्छ । मगरहरुको विश्वास र उनीहरुको स्वभावलाई विश्लेषण गर्दा उनीहरुलाई हिन्दू वा बौद्ध भनेर भन्न मिल्दैन । धर्म भनेको व्यक्तिमा सधै रहिरहने स्वभाव हो अथवा मनिसहरुमा भएको विश्वास हो । मगरहरुको स्वभाव र विश्वास हिन्दूहरुको र बौद्धहरुको भन्दा भिन्न छ । हिन्दूहरुले ब्रह्म, विष्णु, राम आदिमा विश्वास गर्दछन् (बराल, २०६२)। बौद्धमार्गीहरुले अहिँसा परम धर्म भन्ने कुरामा विश्वास गर्दछन् । तर यहाँका अधिकाँश मगरहरुले प्रकृतिमा विश्वास गर्दछन् र प्रकृतिको नै पूजा गर्दछन् । जस्तो खोलानाला, रुख, पहाड, हवा, ढुङ्गा र माटो जस्ता प्रकृतिका अभिन्न अङ्गलाई  पुज्ने र मान्ने गर्दछन् । प्रकृतिवादमा आधारित झाँक्रीवाद (Shamanism) मा विश्वास गर्दछन् । झाक्रीको ज्ञानमा  आधारित धेरै औषधि विज्ञान पनि मगरहरु सँग छ ।

पाल्पाका मगरहरुले परम्परा देखी मान्दै आएका देवीदेवताहरुको अध्ययनबाट यिनीहरुले मान्ने गरेका देवीदेवता अन्य धर्म वा परम्पराभन्दा भिन्नै प्रकारको देखिन्छ । यिनीहरुले मान्ने गरेका देवीदवता र पूजा गर्ने विधिहरुको सुक्ष्म अध्ययन गर्दा प्राचीन आदिवासीका प्राकृतिक शक्ति तथा श्रोतप्रतिको विश्वासलाई देवी देवताको नामले चिन्ने गरेको पाइन्छ । वनजंगल नदिनाला, पानीको स्रोतको उचित व्यवस्थापन तथा जंगली जनावरको प्रकोपको साथै रोगव्याधी आदिबाट बाँच्नका निम्ति देवीदेवताको विश्वास लिएको देखिन्छ । यसका साथै दुर्लभ पशुपंक्षी तथा जीवजन्तुको विनास गर्न नहुने कुरा पनि यहि देवीदेवताको विश्वास संग सम्बन्धित रहेको छ । छविलाल चिदीका अनुसार पाल्पाका देवीदेवता हरु पूर्वेली बाजेबज्यै, बुढा बराजु, सिद्ध, रम्भा देवी, खाँद देवी, कालिका देवी, मैयाँ देवी, माई देवता, स्याम्बायु, भोमरी देवता, सिरउँ, गोठोगैडी, भ्यूसिन, चण्डी देवता, मरी, झाँक्री, लेढेन, मसान, भूत देवता, हरेलो, कूलपूजा, सबैमा बलि चढाउने परम्परा रहेको छ । पाल्पाका मगरहरु वास्तवमा बौद्ध वा हिन्दु धर्मका अनुयायी नभएको निश्कर्ष छ । (चिदी, २०७२) । प्रेम खत्रीका(खत्री, २०७३) अनुसार पनि धेरै आदिवासी जनजाति समाजमा आदिकालको प्रकृति र पितृपूजाको अवशेष पाइएको र सबैजसो संस्कारमा यी वाह्य शक्तिप्रतिको गहन आस्था र श्रद्धाभाव समानरुपले रहेको पाइएको छ ।

नेपालको सन्दर्भमा सर्वप्रथम नेपाल सरकारको आधिकारिक दस्तावेज राष्ट्रिय संस्कृति नीति, २०६७ मा नेपाली राष्ट्रिय संस्कृतिलाई यसरी परिभाषित गरिएको छः “वर्तमान नेपालको सीमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानवसमुदाय वा मानवसमुदायहरूले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिरहेका हाम्रा विभिन्न जाति एवं समुदायका पूर्खाहरूले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मा लाएर गएका भौतिक, अभौतिक सम्पदाहरू र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।” (नेपाल सरकार, सूचना विभाग, २०६७) । संस्कृति भनेको परापूर्वकालदेखि हाम्र्रा पूर्खाहरुले आफनो ज्ञान, सीप, र क्षमताबाछ श्रृजना, संरक्षण एवम् पालना गरी हामीलाई छोडेर गएका र हामीले पनि विरन्तर रुपमा तिनको प्रयोग उपयोग, परिमार्जन, संसोधन, संरक्षण एवम् पालना गर्दै आएको असल जीवनशैली तथा हाम्रो पहिचान हो  (खत्री, २०७०ः ६)। त्यसर्थ मानिसको सबै उपलब्धी उसको संस्कृति हो भन्न सकिन्छ ।

संस्कृति समुदायको वा समाजको अभिन्न अंग हो । माया हिस्कीका अनुसार (हिस्की, २०७६), संस्कृति बिना मानिस अपांङ्ग हुन्छ र समाजमा संस्कारको जन्म हुन सक्दैन । आफू संग भएको ज्ञान, शीप, चलन चल्ती, रहन सहन, रीतिरिवाजले नै मानवीय जिवनलाई पूर्ण बनाउदछ । संस्कृतिले नै व्यक्ति, समुदाय र समाजको पहिचान निर्माण गर्दछ । संस्कृति कुनै पनि जातिको विशिष्ट पहिचान हो । तसर्थ समाजसंगै निर्मित ज्ञान, शिप, क्षमतालाई परम्परागतरुपमा प्रयोग गरिदै आउनु र पुस्तान्त्रण हुदै जानुको जुन चक्रिय प्रणाली छ, त्यही नै समग्रमा संस्कृति हो भन्न सकिन्छ । सुदर्शन अर्याल का अनुसार (अर्याल, २०७६) मगर हरुले विसौना स्थापना गरी पुस्तौँ पुस्ता पित्तरहरुलाई वरपिपल घेरेर थापना गर्ने चलन छ मुर्ति राख्ने गरिदैन । परिवार आफ्ना पित्रृहरु आफ्नै कूलमा पुनरजन्म लिएर आउन् भन्ने अपेक्षा गर्दछन् । मृत्युपछि पनि पित्रृको रुपमा घुर विसौनीमा आफैसँग रही रहने हुँदा मिठो मसिनो र पाहुनाको पाहुर पहिलो नम्बरमा उनीहरुलाई पस्केर मात्र अरुले खाने चलन छ । यसले मगर जाति आफ्ना पूर्वजप्रति अति समर्पित जाति हो भन्न सकिन्छ ।

मगर जातिका आफ्नै मौलिक सांस्कृतिक र धार्मिक मान्यताहरु अनुसार प्रकृतिप्रति श्रद्धा राख्ने पितृपूजक मगर जाति काल्पनिक देवीदेवताहरुको पूजा नगर्ने बरु यथार्थरुपमा अस्तित्वमा रहेका प्राकृतिक शक्ति र पितृहरुको पूजा र शान्ति गर्ने गरेका छन् (घर्ती मगर ः २०७७) । मगर संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार मगर जातिका आफ्नै दुइ ऋतुहरु छन् जसलाई उभेउली र उधेउली भनिन्छ । बार्षिक समयचक्रलाई यही दुइ ऋतुमा मौलिक ढंगले मानव जीवनपद्धतिसँग मगर जातिले आवद्ध गरेको छ । तराली भेगका मगर जाति पनि मगर मौलिक संस्कारहरु अनुसरण गर्ने गरेको मगर संस्कृतिका अध्ययेता जगबहादुर बुढाको धारणा छ (बुढा मगर, पृ.२०)। तिब्बती बौद्ध र खस संस्कृतिको चपेटाका बाबजुद डोल्पाका तराली मगरको मौलिक सांस्कृतिक पहिचान आज पनि चुल्होका बज्यु र बराहाको पूजा मार्फत बाँचिरहेको उहाँको धारणा छ ।

परम्परागत कर्मकाण्डीय संस्कार तथा संस्कृति

जातिय संस्कार हरुका रुपमा गण्डकि क्षेत्रका मगर हरूमा जन्म, छैंटी, न्वारन, अन्नप्राशन, छेवर, कर्णवेध, छोरीको गुनियो चोली दिने, विवाह, तथा मृत्यु पछि गरिने अन्त्येष्टि संस्कारका साथै कूलदेवताको पूजा प्रचलनमा रहेका छन् ।

जन्म संस्कार

मगर परिवारमा बच्चा जन्मेको क्षणलाई उल्लासताका रूपमा लिइन्छ । बच्चा जन्मिएको समयलाई सूतक भनिन्छ । सूतक ३ देखि ७ दिन सम्मको रहन्छ । कसै कसैले ११ दिनसम्म पनि लम्ब्याउँछन् । यस बेला भाइ खलकका घरमा शुभ कार्यलाइ वर्जित गरिएको हुन्छ । बच्चा जन्मेको ६ दिनमा छैंटी गरिन्छ । यसलाई छैटौं,  छैंटी, अथवा छैटुङ पनि भनिन्छ । यस दिनमा भाविले बच्चाको भाग्य लेखन कार्य गर्छन् भन्ने विश्वासमा उत्सव मनाउने काम गरिएको भनिन्छ । यस दिन विभिन्न नाचगान गरेर रातभर जागै बस्तछन् । रातभर नाच्ने गाउनेलाई बिहान भए पछि नाङलामा चामल, पैसा, खानेकुरा, रक्सी आदि राखिदिने चलन छ । ३ दिन अथवा ७ दिन अथवा ११ दिनमा उक्त बच्चाको नाम राख्ने गरिन्छ । यसलाई न्वारान भनिन्छ । न्वारानका दिन, भान्जा अथवा जुवाइँले लोटामा गहुँत, फूल, चामल र रूपियाँ पैसा हालेर मानिल्याएका पूरोहित अथवा पण्डितका घर जान्छन् । पूरोहित अथवा पण्डितले गायत्री मन्त्रले उक्त गहँत मन्त्रिने काम गर्दछन् । बच्चा जन्मिएको समय सोधेर, तिथि, नक्षत्र पहिल्याइ, नाम जुराउने काम पनि गर्दछन् । यसरी पूरोहित अथवा पण्डितले मन्त्रिएको गहँत लगेर सुतक लागेको घरमा छर्किएर चोख्याउने गर्दछन् । न्वारानका दिन घर रातो माटो र गोबरले लिप पोत गरी चोख्याएको हुन्छ । आँगन, सिकुवा सबै बडारकुँडार गरिएको हुन्छ । घरमा गहुँत छर्किए पछि, सम्पूर्ण सूतक लागेका सन्तानलाई पनि खान दिइन्छ । नयाँ जन्मिएको बच्चालाई आँगनमा गोबरको कुण्ड बनाइ दूधको अर्घ दिई, त्यस कुण्डमा कुल्चाइन्छ । यसलाई सूर्यको दर्शन गराएको भनिन्छ । न्वारानमा चेलीबेटी, कुलकुटुम्ब, नातागोता, इष्टमित्र र छरछिमेकीहरूलाई निमन्त्रणा गरिएको हुन्छ । न्वारानमा आउँदा निम्तारूले चामल, पैसा, सक्नेले कुखुरा, जाँड, रक्सी, आदि ल्याउने गर्दछन् । समयको परिवर्तनसँगै आज भोलि बच्चालाई खेलाउने सामान, लुगा फाटा पनि दिइन्छ ।

अन्नप्राशन

बच्चा ६ महिनाको भएपछि भात खुवाउने चलन छ । यसलाई पाःनी अथवा “ज्याट् खुलाइ” भनिन्छ । यस दिन बच्चालाई सुन पानीमा नुहाएर नयाँ लुगा लगाइ दिने गरिन्छ । त्यसपछि चाँदिका सिक्काले भात खुवाउने चलन छ । कसैकसैले कुथुर्का नामको चराको टाउकाले पनि भात खुवाउने गर्दछन् । यसरी भात खुवाउने काम सबै भन्दा पाको उमेर भएका बाट सुरू गरिन्छ । भात खुवाए पछि पनि पाको उमेर भएकाले बच्चा र दाल चामलको पोको पिठिउँमा बोकी, जोर लौरो टेकेर “परदेश डुलाएको” भन्दै घर डुलाउने चलन छ । यसो गर्नाले बच्चाको आयु लामो हुन्छ भन्ने मान्यता छ । यसरी डुलेर आए पछि दुध अथवा दहीको सगुन खुवाउने चलन छ । बेलुकी भए पछि परदेशका लागि भनेर पोकामा राखि दिउँसो बच्चासँगै बोकीएको दाल चामलको खिचडी पकाएर बच्चालाई खुवाउने गरिन्छ । कतिपय घरमा पाःनीको दिनमा पनि नाचगान गरेर खुबै रमाइलो गर्दछन् ।

छेवर

परिवारमा जन्मिएको बच्चा छोरा भए ३ देखि ५ वर्षभित्रमा कपाल काटिदिने चलन छ । दोस्रो सन्तान छोरी भए ३ अथवा ४ वर्षमा पनि काट्न मिल्छ तर दोस्रो सन्तान छोरा भए, पहिलोको कपाल काट्न ५ वर्षको भइन्जेल पर्खनै पर्दछ । कपाल काट्दा “आमा कि मामाले” भन्ने चलन छ । आमाले काटिदिने भए झुक्याएर अथवा चोरेर काटिदिनु पर्दछ भने मामाले काटिदिंदा विधिवतरूपमा काटिदिने चलन छ । पहिलो चोटी केस काट्ने विधिलाई छेवर भनिन्छ । छेवरको केस काट्दा दाम्लाले घाँटीमा बाँधी कपाल काटिदिने चलन छ । कपाल काट्दा टुप्पी राखेर काट्ने गरिन्छ । कपाल काटि सकेपछि मामाले भान्जालाई टोपी लगाइदिने गर्दछन् । यस दिनलाई पनि उत्सवका रूपमा नै मनाइन्छ । कसै कसैको घरमा युवा तन्नेरीहरू रातको समयमा नाच गान गरेर खुबै रमाउने गर्दछन् । चेली बेटी, आफन्त, कूल कुटुम्ब, छरछिमेकीलाई गच्छे अनुसार निम्त्याइन्छ । सेलरोटी अथवा बाबरका साथमा मीठो मसिनोको बन्दोबस्त मिलाइएको हुन्छ । छोरीको छेवर गरिंदैन । छोरी चेलीलाई शूभ दिन ठहरयाएर गुन्यु चोली र मजेत्रो दिइ अशिर्वाद दिने गरीन्छ ।

विवाह संस्कार

विवाह दुई विपरीत लिङ्गीहरूको सम्मिलनको सामाजिक रूपमा स्वीकृत संस्था हो जसको प्रमुख उदेश्य मनोरञ्जन, प्रजनन र कहिलेकाहीँ समय, परिस्थिति, देश र कालअनुसार नियोजन गर्नु तथा सामाजिक उत्तरदायित्व वहन गर्नु हो । छोरा छोरी वयस्क भएपछि विवाहको कुरा आउँछ ।

विवाह संस्कारः मगर जातिमा विवाह दुइ प्रकार, मागी विवाह तथा प्रेम विवाह, प्रचलनमा छ ।

प्रेम विवाह ः मगर जातिमा केटाले आफुलाई मन पर्ने केटीलाई घरमा माग्न नगई प्रेम विवाह वा आमा बाबुको सल्लाहमा लैजाने प्रचलन पनि रहेकोछ । केटाले केटीलाई त्यसरी घरमा लगेपछि दुलहीलाई घरभित्र भित्रयाउने गरिन्छ । यस क्रममा दुलाहाको घरमा कुटुम्बले घरको दैलो लिपपोत गरी कुखुराको भाले काटेर दुलही भित्रयाउने गरिन्छ । उक्त दिन ईष्टमित्र बोलाई दुलाहा दुलहीलाई टीका लगाई आशिर्वाद दिने र भोज खाने गरिन्छ । यसरी भगाएर लगेको ३ दिन भित्र केटाको घरबाट रोटी, रक्सी, भातीको जाँंड र दही सहितको सगुन लिएर केटीको घरमा सोधनी (गीनक्हे) जानु पर्ने हुन्छ ।

यदि ३ दिन भित्र केटीको घरमा सोधनी (गीनक्हे) नगएको खण्डमा केटीको माईती पक्षले आफनो छोरी हराएको आरोपमा संबन्धित निकायमा उजुरी समेत दायर गर्न सक्ने संभावना रहेको हुन्छ । सोधनी (गीनक्हे) जाने दिनमा केटा पक्षका अनुभवी, चलाख र बोल्न सक्ने ब्यक्तिहरु केटीको घरमा गएर केटी पक्षसंग केटीमा आफुहरुले बुहारी बनाउन लगेको ब्यहोरा अति नै नम्र भएर जाहेर गर्नु पर्ने हुन्छ । केटा पक्षले आफना कुराहरु राखी सकेपछी केटी पक्ष राजी खुशी भएको खण्डमा केटा पक्षकाले लगेको रोटी, रक्सी, भातीको जाँड र दहि उनीहरुले स्वीकार गर्दछन । यसरी कोसेली स्वीकार गरी सकेपछी विवाह पक्का भएको मानिन्छ ।

मागी विवाह ः यसमा दुलहा पक्षले दुलही पक्ष संग दुलही माग्न जाने, सोधनि वा ठेकी लैजाने, सगुन फर्काउने, स्वयम्बर तथा विवाह गर्ने र त्यस पश्चात अन्तिममा दुलही फर्काउने संस्कार हरू पर्दछन् । केटी पक्षका अभिभावक हरू वा केटी स्वयमले स्वीकार गरेर हुन्छ भने पछि विवाहको औपचारिक रीति–रिवाज अनुसार कुरा अगाडी बढेको मानिन्छ ।

त्यस पछि केटा पक्षबाट केटी पक्षको घरमा सगुन सहित औपचारिक रूपमा केटी माग्न जाने काम गरीन्छ । यस बेला केटा पक्षले शगुनका रूपमा ठेकी लिएर जाने प्रचलन छ । सगुनमा सामान्यतयाः सेल रोटी, अन्डा, मासु, माछा, ठेकीमा जाँड, दही, रक्सी, फलफुल, हरू राखिने चलन छ । केटा पक्ष र केटी पक्ष बिच विवाह गर्ने दिन निश्चित भएपछि उक्त दिनमा जन्ती तथा निम्तालुहरुलाई भोज खुवाउनका लागी विवाहको अघिल्लो दिन केटी पक्षले मागे अनुसार चामल, मासु, रोटी, रक्सी, गहना, लुगा, घरको कुल देउताको रातो सेतो धजा, तथा आवश्यक सरसामानहरु केटाको घरबाट पुर्याउनु पर्ने हुन्छ । विवाहको दिन केटीको घरमा संपूर्ण वैवाहिक कार्यक्रमहरु सम्पन्न गर्ने गरिन्छ ।

मगर जातिको पारिवारिक ब्यवस्थापनमा महिलाहरुको स्थान महत्वपूर्ण रहेको हुन्छ । घरायसी कार्य विभाजन तथा निर्णय प्रकृयामा महिलाहरुको भूमिका अपरिहार्य रहेको हुन्छ। त्यस्तै गरी विवाह संस्कारमा पनि महिलाहरुको स्थानलाई सवोर्परि रुपमा लिईएको हुन्छ । केटा पक्ष र केटी पक्ष बिच विवाह गर्ने दिन निश्चित भएपछि उक्त दिनमा जन्ती तथा निम्तालुहरुलाई भोज खुवाउनका लागी विवाहको अघिल्लो दिन केटी पक्षले मागे अनुसार चामल, मासु, रोटी, रक्सी तथा आवश्यक सरसामानहरु केटाको घरबाट पुर्याउनु पर्ने हुन्छ । विवाहको दिन केटीको घरमा संपूर्ण वैवाहिक कार्यक्रमहरु सम्पन्न गर्ने गरिन्छ । अरु जातिमा झैं मगर जातिमा केटीको घरबाट दाईजो दिनु पर्ने कुरा अनिवार्य रहंदैन ।

विवाहको दिन दुलहीको घरमा केटीको मामा मावलीहरुको स्थान पनि अत्यन्त महत्वपुर्ण रहेको हुन्छ । दुलाहा सहितको जन्ती केटीको घरमा पुग्ने बेलामा स्वागत द्धारमा माईती पक्षले चिरागले स्वागत गरी सकेपछि मावली खलकले अक्षताले जन्ती पर्सिए पछि मात्र जन्तीहरुले विवाह घरमा प्रवेश पाउंदछन । उक्त दिन दुलहीको घरमा पाक्ने खानाका परिकारहरु मध्ये मावली खलकका लागी विशेष प्रकारले तयारी गरी खुवाउनु पर्ने हुन्छ, यसलाई मावली खुवाउने भनिन्छ । दुलाहाको घरबाट पनि मावलीहरुका लागी खसी, रोटी, रक्सी, भातीको जांड र दही आदि कोसेलीको रुपमा लैजानु पर्ने हुन्छ ।

विवाहको दिन जन्तीहरुलाई खाना सत्कारका लागी व्यवस्थित ढंगले बस्ने व्यवस्था गरिन्छ । यस क्रममा माईती पक्षका केटीहरुले जन्तीहरुलाई हात धुलाई दिने गर्दछन । त्यस पछि सगुनका रुपमा रोटी, मासु भातीको जांड र रक्सीले स्वागत गरि सकेपछि खाना खान दिईन्छ । खाना खाई सकेपछि माईती पक्षले सालको पातबाट तयार पारेको आकर्षक टपरी वर्नौली, नाच गान र हाउभाउ सहित जन्ती पक्षलाई हस्तान्तरण गरिन्छ । त्यस्तै गरी दुलाहाको बाबा, दुलाहा र लोकन्तेलाई मूल्य अंकित सालको पातको झोला हस्तान्तरण गरिन्छ । त्यस पछि उनीहरुले नाच गान र हाउ भाउ सहित उक्त झोलामा अंकित मूल्य सहितको पैसा सोही झोलामा राखेर माईती पक्षलाई फिर्ता गर्नु पर्ने हुन्छ । त्यस पछी लोकन्ते वा जन्ती पक्षले तोकेको कुनै व्यक्तिले वर्नौलीमा राखिएको सुंगुरको दाह्रा मुखमा च्यापेर बाघको अभिनय गर्दै भान्सामा गई त्यहाँ यही प्रयोजनका लागी राखिएको विशेष प्रकारको खाना खोजेर खाने प्रयत्न गर्दछन् भने माईती पक्षबाट एक जनाले कुकुरको अभिनय गर्दै उक्त बाघलाई भान्सा भित्र छिर्न दिदैनन् । यस प्रकारको अभिनय र नाच गान सहित वैवाहिक कार्यक्रम सकिए पछि माईती पक्षबाट बिदा पाए पछि दुलही लिएर जन्ती दुलाहाको घर फर्किने गरिन्छ ।

मृत्यु संस्कार

मानिस जन्मे पछि अन्तिम पटक गरीने संस्कार मृत्यु संस्कार मानिन्छ । मगर समुदायमा कुनै व्यक्तिको मृत्यु भयो भने मृतकको दाह संस्कार गरिन्छ र ७ वा १३ दिन सम्म मृतकको छोरा, बुहारी र छोरीहरु किरिया बसी मृतकको आत्माको चीर शान्तिका लागी धुप, दियो बालेर दिनमा एक पटक मात्र अलिनो खाना खाएर बस्ने गर्दछन । ७ वा १३औं दिनका दिन चोखिने क्रममा बाहुन पण्डित वा वापा वा भुषाल राखेर पुजा गरी चोखिने गरिन्छ । (श्रीस मगर, २०७४ १३८-१४०)

कूल पूजा

वैदिककालका मानिसहरु दुईवटा शक्तिलाई मान्थे । एउटा त अदृश्य तत्वको रुपमा रहेको भगवान र अर्का पुर्खाहरु । ऋग्वैदिक काल (आजभन्दा तीन हजार वर्ष पहिले) सम्म पनि कुनै प्राकृतिक समस्याको कारण अलौकिक शक्ति नै हो भन्ने मान्यता देखिन्छ । खडेरी, अतिबृष्टि, अनाबृष्टि, हुरीबतास आदिको कारण अलौकिक शक्तिलाई मान्ने चलन पहिलेदेखि नै चल्दै आएको चलन हो । यसैबाट जन्मिएको मानिन्छ कूलपूजाको परम्परा । मध्य पहाडको जहाँसुकै पाइने तितेपाती मगर जातिको पूजाआजामा उपयोग हुने धूप बन्यो जो विज्ञानले अधिक एन्टिवायोटिक गुण भएको वनस्पतिको रुपमा व्याख्या समेत गर्यो । भाङ्गो जसलाई फरा भनिन्छ यसको औषधीय उपयोगको अलावा रेसाबाट पोशाक संस्कृतिको विकास गर्यो । मध्ये पहाडमा सजिलै फसल दिने प्राचीन अन्न कोदो, घैया र जोंलाई खाध्य संस्कृतिमा उपयोग गर्यो । बाख्रा पालनबाट मगरको प्राचीन अर्थतन्त्र निकै समृद्ध रहेको पुष्टि हुन्छ । पशुपालनका माध्यमबाट पोशाक संस्कृति, खाद्य व्यवहार तथा आभूषण र संगीतयन्त्र समेत निर्माण गरी उपयोग गरेको देखिन्छ । 

मगर जातिको धर्म, सामाजिक संस्कारमा बदलिदो समय अनुसार केही परिवर्तन हरु देखा परेका छन् । अहिले मगरहरुले हिन्दु, बौद्य र ईसाइ धर्म समेत अंगालेका छन् । मगर जातिले यसलाइ धर्मको रोजाई वा अंगिकार गर्ने कुरा नितान्त व्यक्तिगत कुरा हो भन्ने धारणा राखेको पाइन्छ । यसो हुँदा एकातिर बौद्ध धर्मका अनुसार संस्कार कार्य गर्ने अर्को तर्फ मारकाट वा वलि दिने पनि गरेका छन् । नयाँ पिढीले आजभोली विदेशी संस्कार हरुमा बढी ध्यान दिएको पाइन्छ । यसो हुनाको मुख्य कारण संचार माध्यमको सहज पहुँच हो भन्न सकिन्छ । संस्कार कार्यका लागी मगरहरुमा परम्परागत रुपमा चेलीबेटी लाई प्रयोग गरिन्थ्यो तर आजभोली बाहुन पुरोहित वा मगर पुजारी बाट यस्ता कार्य सम्पन्न भई रहेका छन् । संस्कार विधिमा एकरुपता ल्याउनका लागी कर्मकाण्डकालागी निर्देशिका बनाउनु पर्ने देखिन्छ ।

मगरहरुका प्रमुख लोकगीत तथा नृत्य

मगर अध्ययन केन्द्र(मगर अध्ययन केन्द्र, २०६३)बाट अठार मगरातका मगरमा गरिएको अध्ययनमा तराली मगर हरुले गाइने गीतहरुमा भाआलु (चैतीमा देवताको स्वागत गर्न गाउने गीत), नवैजीत (चैती बोक्ने बेलामा गाउने गीत), क्याम्डो (लामाहरुले गाउने गीत) झाम्रे गीत, लामा गीत, बैसारी गीत, क्यासेट गीत आदी छन । आजकल आफुले गीत गाउन भन्दा पनि क्यासेटमा लोक गीत सुन्ने गरेको प्रमुख सूचनाकर्ताहरु र लक्षित समुह छलफलका सहभागीहरुले बताएका छन । यस जिल्लामा नाच्ने नाँचहरुमा झाम्रे नाच अति प्रचलित नाच भएको पाइयो । यो नाच जो पनि र जहिलेपनि नाच्ने गर्दछन । यसैगरि अन्य नाचहरुमा लामा नाच (लामाहरु नाच्ने), च्योकोरा (मान्छे मरेको बेला लामाहरु नाच्ने), घुरुञ्चा (लामाहरु ढ्याङ्गो बनाउदै नाच्ने), चैतीमा नाच्ने नाच  (चैतीमा मान्छेहरु फेटा गुथ्ने, रातो रिवनले बाध्ने र यसमा मयुरको प्वाँख र दुम्सीको कॉडा फेटामा अनिवार्य राखेर नाच्ने नाच), ढिटिङ्ग (तरवाजस्तो हतियार लिएर सेतो दौरा सुरवाल लगायर नाँच्ने) नाच्ने गरेको पाइयो । जसमा प्रमुख मान्छे गुरुवाले घाँघर लगाउने चलन छ ।

त्यस्तै रुकुम जिल्लामा नाचिने लोक नाचहरुमा पैसरुँ, सोरठी, (पुरुषले मात्र नाच्ने) ख्याली सिगारुँ, बलनाच, मैयूर (सराङ्गे) नाच (लोपोन्मुख), नचारु (पुरुषले मात्र नाच्ने) भूम्या÷बलनाँच झ्याउरे, लहरे, पैसरी झाँक्री (काँक्रीमा नाचिने) झाङखरे, नाम्को डिंग्रे, गरुवा (रन्मार्मैकोटमा नाचिने) फोरेल्नी (महिलाले मात्र नाच्ने) नाचहरु रहेको पनि उनिहरुले बताएका थिए । यसै गरि यस जिल्लामा बजाइने बाजाहरुमा मादल, देउडी, डम्फू, दमाहा, सनाही, झ्याली नर्सिङ्गा, वासुरी मुरली, भुर्चुङ्गा पैंजन, न्याउर, चाँप, खैजडी, ढ्याङ्गे (काँक्रीमा बजाइने) रहेको बताए । यस अधययनले मगरहरुको नाचहरु, गीतहरु र बजाइने बाजबहरुलाई विश्लेषण गरि हेर्दा डोल्पामा केहि संस्कारहरु गर्दा र चाडहरु मनाउदा लामा नाच नाच्ने र लामाहरुकै बाजाहरु बजाउने गरेको तर सामान्य अबस्थामा यी तिनै जिल्लामा चाड पर्व र संस्कारहरु मनाउदा झाम्रे नाच र झाम्रे गीत नै प्रचलित रहेको तथा आजकल क्यासेट गीत र त्यहि क्यासेट गीटमा नाच नाचिने पाइनुले हिन्दु वा बौद्ध धर्म सम्बन्धित संस्कारबाट फरक भै आफ्नै मौलिक प्राकृतिक धर्म र संस्कार संग सम्बन्धित भएको देखिन्छ । (मगर अध्ययन केन्द्र, २०६३)

डा.केशरजंग बरालमगरका (बराल, २०५०ः ८५–८६) अनुसार मगरहरू पहाडको डाँडाकाँडा, भीरपाखा, पखेरामा जन्मेर, हुर्केर आर्थिक विषमताको जाँतोमा पिल्सिएको भएता पनि यिनीहरू को जीवन निरस हुँदैन । आफ्नै जातीय नाचगानमा होमिएका र झुम्मिएका हुन्छन् । प्रायः मगरहरू मेला, घाँसपात जाँदा, पँधेरा, जात्रा, चाडपर्वमा समय अनुसारका गीत र नृत्यमा रमाइरहेका हुन्छन् । सुदूर पश्चिमको उत्तरी क्षेत्रका मगरहरू छोट्टी (केटा र केटी मिलेर बस्ने रोदी घर जस्तै बस्ने परम्परा पाइन्छ । पाल्पा, तनहूँ, स्याङ्जाका मगरहरू धान रोप्दा बाली (असारे गीत र कोदो रोप्दा, गोड्दा सालैजोमा, भदौ महिना लागेपछि झोरा (मगरहरू ले तिज गीतलाई झोरा भन्दछन्) असोज, कार्तिक, मंसिर, पौषसम्म सोरठी र नचरीमा, माघ, फागुन, चैत्र, वैशाख, जष्ेठ, असारसम्म कौहा र घाँटुमा भुलेका हुन्छन् । यसरी मगरहरू बाह्रै महिना जति दुःख कष्ट भोग्न परे तापनि सामयिक, सामाजिक, धार्मिक लोकनृत्यमा भुलेर जहिले पनि हँसिला देखिन्छन् । मगरहरु चाड, पर्व, मेला, राम रमिता, पूजा आजामा झाम्रे, चुटका, साले जो, यानीमाया, लस्के, ठाडो भाकाका साथै थुप्रै लोक गीतहरु गाउ‘छन् र नाच्छन पनि । यसै गरी झाम्रे नाच, सोरठी नाच, कौडा नाच, टप्पा नाच, नाच्ने गर्दछन भने काइके र खाम मगरहरु झोरा, डाम्फे, फांक, सराङ्गे, बैसरी, पैसरी, फरौले, भुमे नाच आदी नाच नाच्ने गर्दछन् । त्यसै गरी मगर बसोवास गर्ने अठार मगरात र तराली मगरहरुको वसोवास क्षेत्रहरुमा पनि विभिन्न सांस्कृति नाचगान हरु हुने गरेका छन् ।

प्रतिभा पुन ले लोकनाच लोकज्ञानको निधि मानेकी छन् । प्रदर्शनकारी लोककलाका रुपमा परिचित लोकनाच हरुमा मानिसका आफना आदिम भावना र धार्मिक भावना संप्रेषित भएका हुन्छन् । यस्ता नाचहरुबाट मनोरञ्जनका साथै प्राचीन संस्कृति, इतिहास, र सभ्यताको चिनारी हुन्छ भनेका छन् । (पुन, २०७५) वास्तवमा लोकनृत्यहरु समाजका दर्पण हुन् । स्थानीय लोकगीत एवम् नृत्यहरुले स्थान विशेषको परिचय दिन्छन् जस्तो लाग्छ । उदाहरणका लागी हिमाली ठाउँका मानिसहरुको नृत्यमा प्रयोग हुने शब्द, वेशभूषा, गहना, नाचको  लय र गति समथर स्थानमा नाचिने नृत्यमा फरक हुन सक्छ । नृत्यहरुका भाव भंगिमाहरुले समेत घटना विशेषका बारेमा धेरै कुराको जानकारी दिएका हुन्छन् ।

डा. मुकुन्द शर्माले आफनो पुस्तक मगरको घाँटोनाचमा (शर्मा, २०७६) पाल्पाका निस्दी, र्पूवखोला र माथागढी गाउँका मगरहरुको घाँटु नाचका बारेमा देखापरेका भ्रमहरुलाई मेटाउन तथा थप अध्ययन अनुसन्धानका लागि ठुलो मद्यत पुरयाउने विश्वास लिन सकिन्छ । घाँटुको कथावस्तु, घटनाक्रम, पात्र चरित्र, परिवेश, भाषाशैली, वेशभूषा, प्रस्तुतिको विधान आदि मगर संस्कृति अनुकूल रहेको कुरा डा. शर्माले गर्नु भएको छ । घाँटु गाथाको परिवेश कालीगण्डकी सेरोफेरो अर्थात नवलपरासी, पाल्पा, स्याङजा, तनहुँ, पर्वत, गुल्मी, बागलुङ आदि क्षेत्र भएको स्पष्ट हुन्छ । पात्रहरु प्नि त्यसै क्षेत्रका चौवीसी कालीन राज्यका राजारानीहरु भएको बुझिन्छ, त्यस्तै नृत्यङ्गनाको वेशभूषा पनि कालीगण्डकी प्रस्रवणक्षेत्रकै मगर समाज प्रतिविम्वित भएको झैं लाग्दछ ।

संस्कार तथा संस्कृतिका चुनौतिहरु

विश्वव्यापीकरणका कारणले मानिसका आदिमकालीन संस्कार हरुमा परिवर्तन वान्छनीय छ भन्न सकिन्छ । उदाहरणका लागी परम्परागत रुपमा पशुवलि दिने प्रचलनमा कमि आएको छ । सम्भवतः भावि दिन हरुमा पशुवलि दिने प्रथा रोकिने देखिन्छ । त्यसै गरी अमानवीय किसीमका संस्कार हरुलाई दुरुत्साहित गरीनु पर्छ भन्ने अन्तराष्ट्रिय दवाव श्रृजना भएको छ ।

मानिसको धर्म र संस्कृति प्रतिको मूल्य र मान्यताहरूमा आएका विचलनका मगर जातिमा पनि देखा परेको छ । युवा पुस्तामा विदेशी संस्कृतिहरुलाई रुचाउने प्रवृति बढेको देखिन्छ । त्यसै गरी बढ्दो शहरीकरण र बसाइ सराईका कारण पनि गाउँ घरका संस्कृति हरु हराउँदै गई रहेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक अतिक्रमणले पनि आफनो संस्कृति प्रति मगर हरुको आस्थामा कमि ल्याएको देखिन्छ । कतिपय जातिहरुको आफनो लिपि नहुँदा आफना संस्कृतिलाइ लिखित रुपमा संरक्षण गर्न कठिन भएका कारण पनि मौलिक संस्कृति हरु लोप हुने अवस्थामा पुगेका छन् । विदेशमा जागीर का लागी जाने क्रम बढदै जाँदा मातृभाषा बोल्ने हरुको सँख्या दिन दिनै घटदो छ ।

सामाजिक संस्कारहरुमा विकृति मौलाएको छ । कतिपय संस्कारहरु धेरै खर्चिलो र आडम्बरी हुन पुगेका छन् । पूजा पाठमा पुरोहित हरुले कर्मपाण्डीय संस्कार गराउँदा धेरै विकृति ल्याएको गुनासो सुनिन्छ । युटयूबमा कर्मकाण्डीय संस्कार देखाएर कर्मकाण्ड गर्ने गराउने अभ्यास पनि बढेको छ । तिहारको देउसी भैलोमा पनि विकृति भित्रिएको छ । आजभोली त फिल्मी गीत र नाच हरु देखाएर देउसी भैलोमा दान माग्ने प्रचलन बलियो देखिन्छ । कतिपय समाजमा अन्य जातिका संस्कृति प्रति घृणाभावका कारण पनि आफना संस्कार र संस्कृति छोडने मनोवृति देखिएको छ ।

मगर जातिको धर्म, सामाजिक संस्कारमा बदलिदो समय अनुसार केही परिवर्तन हरु देखा परेका छन् । अहिले मगरहरुले हिन्दु, बौद्य र ईसाइ धर्म समेत अंगालेका छन् । मगर समाजले यसलाइ धर्मको रोजाई वा अंगिकार गर्ने कुरा नितान्त व्यक्तिगत कुरा हो भन्ने धारणा राखेको पाइन्छ । यसो गर्ने अधिकार व्यक्तिमा रहन्छ तर समग्र मगर जातिनै बौद्ध वा अन्य धर्मावलम्बी थिए वा हुन् भन्नु गलत हुने छ । नयाँ पिढीले आजभोली विदेशी संस्कार हरुमा बढी ध्यान दिएको पाइन्छ । यसो हुनाको मुख्य कारण संचार माध्यमको सहज पहुँच हो भन्न सकिन्छ । प्रत्येक परिवारले आफना नानी हरु लाई स्यानै देखी आफना संस्कार र संस्कृतिका बारेमा ज्ञान दिनु आवश्यक देखिएको छ ।

भावि रणनीति तथा कार्यक्रम

भाषा, कला, साहित्य र संस्कृति समाजको ऐना हो र मुलुकको गौरवशाली निधि हो । मौलिक तथा विभिन्न जातजातिका भाषा र संस्कृति, साहित्य र कला, गायन, संगीत, नृत्य, चित्रकला, मूर्तिकला, अभिनय कला, उद्घोषण कला, लेखनकला, सृजनात्मक गतिविधिहरुको संरक्षण, संवर्धन, प्रवद्र्धन, र प्रोत्साहन गर्न निम्न लिखित कार्यक्रम संचालन गरीनु पर्छ ।

१. नेपालका धेरै जातजातिहरुका इतिहास, भाषा, संस्कार तथा संस्कृतिहरु लोप हुने अवस्था देखिन्छ । यसो हुनुको मुख्य कारण वैज्ञानिक अध्ययन तथा अनुसन्धानका काम सुनियोजित ढंग बाट नहुनु र मूर्त अमूर्त कला एवम् संस्कृति हरुको संरक्षणको कार्यक्रमहरु अगाडी बढन न सक्नु नै हो । राज्यले यस्ता महत्वपूर्ण काम हरुमा सांस्कृतिक निधीहरुको संरक्षण तथा प्रवर्धन गर्नु पर्छ ।

२. विश्व विद्यालयहरुमा भाषा एवम् संस्कृतिका बारेमा खोजमूलक अनुसन्धान गर्ने तर्फ विद्यार्थी हरुलाई प्रेरित र सही मार्ग निर्देश गरीनु र्पदछ ।

३. सबै जात जाति हरुले आफना अमूल्य निधीका रुपमा रहेका संस्कार तथा संस्कृति हरुमा गर्व गर्दै यिनको संरक्षण गर्नु त्यत्तिकै आवश्यक देखिन्छ । उनि हरुलाई यस अभियानमा समावेश गराई सरकारले सहयोग गर्नु पर्छ ।

४. समाजमा अमानवीय तथा पशुपंक्षी हरुलाई यातनापूर्ण व्यवहार वा बलि दिने संस्कारहरुलाई दुरुत्साहित गरीनु पर्छ ।

५. नेपाल विभिन्न जातजातिको देश भएकोले यहाँका १२३ भन्दा बढी भाषाहरुको समान रुपमा संरक्षण र प्रवर्धनमा काम गर्नु पर्छ । विद्यमान अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २६(१) मा विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा,

अङ्ग्रेजी भाषा वा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा हुन सक्नेछ भनी उल्लेख भएको छ । यस बाट मातृभाषाको माध्यमलाई मान्यता मिलेको छ । तर नेपाली र अङ्ग्रेजी दुवै माध्यमलाई एउटै दर्जा दिइँदा नेपालको विद्यालयीय शिक्षामा अङ्ग्रेजीकरण हुन गई नेपाली भाषा र नेपालका अन्य राष्ट्रभाषा समेत विद्यालय शिक्षाको मूलधारवबट विस्तापित हुने अवस्था सिर्जना भएको छ । यस प्रावधानको पुनरावलोकन गरीनु पर्छ ।

६. विभिन्न चाड पर्वहरुको विविध पक्ष उजागर हुने गरी वित्तचित्र मार्फत स्वदेश एवम् विदेशमा समेत प्रदर्शन गरीनु पर्छ ।

७. समय अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान तथा विश्वविद्यालयहरुले नेपालका भाषा तथा संस्कृतिका विषयहरुमा गोष्ठि संचालन गर्ने र पुस्तक हरु प्रकाशन गर्नु पर्छ ।

८. विद्यालयहरुमा नै नवसर्जकका लागि कविता, गजल सहितका साहित्यिक विधाको प्रतियोगिता गराइनु पर्छ ।

९. प्रचलित कानुन बमोजिम दर्ता भई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, विस्तार एवम् प्रवद्र्धनमा क्रियाशिल नाफा रहित संस्थाहरुको प्रवद्र्धन तथा भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा क्रियाशिल सर्जकको प्रोत्साहनका लागि अनुदानमा कार्यक्रमका साथै तत्सम्वन्धी गतिविधि अघि बढाउन आवश्यक छ ।

१०. साहित्य, कला र संस्कृतिको प्रवद्र्धन एवम् विकासमा टेवा पुर्याउने, सृजनशील समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सर्जक हरुलाई स्थानीय सरकारले वर्षेनी पुरस्कार प्रदान गरिनु पर्छ ।

११. पठन एवम् अध्ययन संस्कृतिको विकास गर्न नगर तथा गाउँका प्रत्येक वडाको आवश्यक ठाउँमा इन्टरनेटको अडियो भिजुअल सहितको पुस्तकालय स्थापना गरिनुका साथै अध्ययन संस्कृतिलाई वढावा दिन आवश्यकता अनुसारका घुम्ती कार्यक्रम सञ्चालन गरिनु पर्छ ।

सन्दर्भ सामग्री

राई, सचेन्द्र दुमी, घुम दार्जिलिङ, मगर जाति(मगर किरात), उत्पत्ति र अवस्थान भाषा र जनसंख्या, रुपरंग अनि वीरता, राहा, वर्ष १, अंक १, असौज २०५१

थापा, एम. एस., प्राचीन मगर र अक्खा लिपि, बृजी प्रकाशन, २०५९

Chemjong, Iman Singh, History and culture of Kirat people, Kirat Yakthung Chumlung, 2003

थुलुङ, नारदमुनि, किराँतको नालीबेलि, श्रीमति अङ्गुर कन्दङवा, २०४२

नेपाल, प्रदीप, हाम्रो इतिहासको आरम्भ हिमवत्खण्ड, गोरखापत्र, २०७६

गुरुङ, प्राज्ञ डा. जगमान, गण्डकीप्रस्रवण क्षेत्रको साँस्कृतिक सम्पदा, पश्चिमाञ्चल विकास मञ्च, २०६७

पोखरेल, प्रा. बालकृष्ण, खस जातिको इतिहास, फिनिक्स बुक्स, २०७५

थापा, गोविन्द प्रसाद, मगर अध्ययन केन्द्र, २०७६

मगर अध्ययन केन्द्र, अप्रकाशित अध्ययन प्रतिवेदन, अठार मगरातका मगरहरुको साँस्कृतिक संस्कारहरु तथा धार्मिक आस्थासम्बन्धी अध्ययन, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, ललितपुर, २०६३

बराल, केशरजंग, छलफल पत्रः  मगरहरुको धर्म र संस्कृति । नेपाल मगर सँघ, स्याङ्गजाले वालिङ्गमा २०६२ साल आश्विन १४ र १५ गते आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र

घर्ति मगर, के मगरात मगर जातिको मौलिक धर्मसंस्कृतिको पहिचान बन्न सक्छ ?, www.pahilopage.com/2020/10/18, २०७७

श्रीस मगर, डा. मीन श्रीस मगर, नेपाली राष्ट्रियताको विकासमा मगर पुजारीहरुको भूमिका, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७७

चिदी, छविलाल, मगर समाजमा देवीदेवताप्रतिको विश्वास र पूजाविधि, मगर अध्ययन केन्द्र, काठमाण्डु, २०७२

खत्री, प्रा.डा.प्रेम, नेपालका जातीय सामाजिक संस्कार, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ, २०७३

नेपाल सरकार, सूचना विभाग, २०६७

खत्री, प्रा. डा.प्रेम, संस्कृति र अनुभूतिका आयाम हरु, सम्पदा संरक्षण, विपद व्यवस्थापन तथा सामुदायिक विकास समाज, २०७०

हिस्की, माया, डोल्पा जिल्लामा वसोबास गर्ने तराली मगरहरुको अमूर्त संस्कृति रुङ्मा(चैती) पर्व बिषयक अध्ययन, २०७६

अर्याल, सुदर्शन, कुलपूजा ः पूर्खा र प्रकृति रिझाउने उत्सव, किन, कसरी र कहिले गरिन्छ ? २०७६ फागुन ३० गते

बुढा मगर, जग बहादुर, प्रेम खत्री, नेपालका जातीय संस्कार अंक ५, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७६

बराल, केशरजंग, पाल्पा, तनहुँ र स्याडजाका मगरहरुका संस्कृति, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५०

पुन, प्रतिभा, पुख्र्यौली लोकनाचः एक चिनारी, लालबहादुर पुन, २०७५

शर्मा, डा. मुकुन्द, मगरको घाँटो नाच, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, २०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *