गुल्मी जिल्लामा मगर जातिको इतिहास

गुल्मी जिल्लामा मगर जातिको इतिहास

डा.गोविन्द प्रसाद थापा

केही बर्ष अघि गुल्मी जिल्लाको मगर संघका अध्यक्ष श्री बालासिङ्ग काउछा मगरबाट मलाई आग्रह भयो उहाँहरुको पत्रिका लंघ्घनका लागि एउटा लेख लेखी दिनु परयो भनेर । प्रारम्भमा त मैले हुन्छ लेखी दिन्छु पनि भनि हाले म आफु मगर जाति र गुल्मी जिल्लाकै बासिन्दा भएकाले लेखको शिर्षक पनि “गुल्मी जिल्ला र मगर जाति” भनेर लेख्छु पनि भनी हाले । पछि पो बुझ्दै जाँदा त लेख बुझाउनु पर्ने समय पनि थोरै मात्र बाँकि र विषय पनि अपठ्यारो लाग्यो । म आफु इतिहास विषयको कमजोर विद्यार्थी त्यसमाथि पनि पुलिसको चर्को जागीर । यी दुई कठीन परिस्थिति हुँदा हुँदै पनि लेख्न तम्सिनु प¥यो । लेख तपाँईहरुको हातमा छ । लेखको विषय ऐतिहासिक र नेपाली इतिहासमा नै अलिखित रुपमा रहेको हुँदा पाठक वर्गलाई रुचिकर हुनेछ भन्ने विश्वास छ । कश्मिरका राजा जयपिदा र नेपालका राजा अरामुडीका बीच “काली गण्डीका”(Kaligandika) का किनारमा भएको लडाई कल्लणको राजतरंगिणी नामक इतिहास पुस्तकमा उल्लेख गरिएको पाइन्छ । उक्त युद्धमा अरामुडीले जयपिदलाई बन्दी बनाएर राखेको स्थानको नाउँबाट उक्त युद्ध गुल्मी जिल्लामा नै भएको गर्न सकिन्छ भनी विद्धानहरुको राय रहेको छ । स्टीलले अंग्रेजीमा अनुवाद गरेको उक्त पुस्तकबाट केही पंक्तिहरु तल उद्धृत गरिएका छन् ।

1531- King Aramudi, Who ruled Nepal, and who possessed of wisdom and prowess, wished to prevail over him by cunning.546- He (Aramudi) Placed Jayapida in the hands of trusted jailors, in a castle which was (built) of stones on the bank of the Kalagandika, and very high.

राजाराम सुवेदीका अनुसार जयपिदा र अरामुडीका बारेमा नेपालको इतिहास मौन छ । जयपिदाको शासनकाल वि.सं.८०८ देखी ८३९ सम्म रहेको देखिन्छ र सम्भवतः वि.सं.८१३ भन्दा पछि यो युद्ध भएको हुन सक्ने बताउनु हुन्छ ।2त्यसताका गण्डकी र कर्णाली प्रदेशमा अरामुडी नामका स्वतन्त्र राजा भएको बुझिन्छ र “उनी मगराँत क्षेत्रको राजा भएको देखिन्छ ।” डी.आर.रेग्मीले त अरामुडी “मगरका नाइके होलान त ?” भनी शंका व्यक्त गरेको पाइन्छ ।3त्यस्तै माइकल विजेलले (Michael Witzel) पनि जयपिदा र अरामुडीको युद्धको चर्चा गरेका छन् । उनकै शब्दमा ः

“A battle between the Kashmiri king and the “Nepalese King” Aramudi took place on the Kala-gandika, the modern name Kali Gandaki, the Kashmiri King was defeated and kept a prisoner in a fortiness built high above the bank of the Kalagandika. the place where the Kashmiri King was kept temporarily is called by Kalhana asma-vesman “stone house”. In modern Nepal, there is Gulmi district, situated on the west bank of the Kaligandaki; Gandigulma is already known from two documents of 998 and 1165 AD. Now Gulma Means “Police station, toll station”, and M.R. Pant conjures that king Armudi’s “stone house” is intended here”

उनीले पनि अरामुडी मगर हुन सक्ने तर्फ इंगित गर्दछन् । उनको तर्क अनुसार अरामुडी नाम मगर भाषाबाट रहेको हुन सक्ने बुझिन्छ ।4

“We are therefore led to think that Aramu-di (or Aramodi?) might represent a Magar name for the area this” King of Nepal” had under his reign.”

उनको तर्क अनुसार मगर भाषामा नदीहरुको नाम –री वा –डी मा अन्त्य भएको छ जस्तै ः मस्र्याङदी, रिडी, हुग्दी, म्याग्दी, बुरी गण्डकी, भेरी, छम्दी, लुम्दी, गेदी आदी । यसैको आधारमा अरामुडी पनि कतै मगर भाषाबाट श्रृजित नाउँ हो कि त । यद्यपी यस विषयको टुङ्गो भने अझै लागेको छैन । आज गुल्मी जिल्ला बारे थप केही भनी रहनु पर्दैन । तथापि यस जिल्लाको नामाकरणको प्रसंग पनि रोचक छ । त्यसैले केही उल्लेख गर्न सान्दर्भिक होला । इतिहासविद राजाराम सुवेदीले वर्तमान कालमा गुल्मीक्षेत्र एक जिल्लाको रुपमा भएपनि पहिले यो साह्रै महत्वको ठाउँ मानिन्थ्यो । मध्यकालमा त्यो क्षेत्रलाई मगराँत वा मग्राँत भनिन्थ्यो । सो क्षेत्रमा मगर जातिको बस्ती बाहुल्य थियो । यस क्षेत्रमा बलिहाङ्ग नामक एउटा राज्य नै थियो र यसको राजधानी बल्ढेङगढीमा थियो । त्यसो हुनाले गुल्मी नाम कतै मगर बोलीसँग सम्बन्धित छ कि भन्ने तर्क गर्नु पनि अप्रासाँगिक छैन । तर हालसम्म प्रचलित मगर कुरा र खाम कुराले गुल्मीको अर्थ गर्दैनन् र यसको व्युत्पति हेतु पनि थाहा पाइदैन भनी उल्लेख गरेका छन् ।5

गुल्मी जिल्लाको नामाकरणको प्रसंगमा सबैभन्दा नजिक विद्धान धनब्रज बज्राचार्य पुगेको जस्तो लाग्छ । उनले “गण्डी”लाई काली गण्डकी र “गुल्म विषय” भन्दा सैनिक टुकुडी बस्ने क्षेत्र भएकोले वर्तमान गुल्मी हुनुपर्ने वा त्यस क्षेत्र वरिपरि हुनुपर्ने कुरा तोकेका छन् ।6

यस कुरासँग डि.आर.रेग्मी र एम.आर.पन्त दुवै जना सहमत हुनु हुन्छ । त्यसैगरी कर्कपैट्रिक 7 ले ई.१८११मा, डा.जगदीशचन्द्र रेग्मी 8 को “नेपालको बैधानिक परम्परा” र पीताम्बर लाल यादवको “नेपालको राजनैतिक ईतिहास”9 पुस्तकहरुमा समेत गुल्मी जिल्ला चौविसि राज्यको पंक्तीमा रहेको छ तर योगी नरहरीनाथको “इतिहास प्रकाश” अंक २ भाग ३ को पृष्ठ ७८६–५८७ मा चौविसी राज्यहरुको नामावलीमा गुल्मी राज्यको नाम देखिन्न ।

योगि नरहरीनाथको विवरण अनुसार चौविसि राज्यहरुको नामावली तपसील बमोजिम रहेको पाईन्छ जस्मा आजको “गुल्मी” को नाउँ रहेको देखिदैन ।

तपसील(राज्य) (धुरी) (राजा)

तनहुँ आठ हजार का राजा हरिदत्तसेन (द्वर कुमार दत्तसेन) १

लमजुं आठ हजार का राजा विरमर्दन्साह १

कास्कि आठ हजार का राजा सिद्धिनारायणसाह १

ढोर दुइ हजार का राजा कृतिषान् १ नुवाकोट् छ हजार का राजा अडि (रि) दमन् साह १

सतौ दुइ हजार का राजा दिर्घनारायणसाह १ भिर्कोट छ हजार का राजा चक्रपतिषान १

गहौ छ हजार का राजा १

म(स)ल्हांकोट सातसय का राजा १

रिसिं छ हजार का राजा वेनिप्रसादसेन् १

घिरि दुई हजार का राजा १पञ्यु दुई हजार का राजा १

पर्वत आठ हजार का राजा किर्तिवम्मल्ल १

गलकोट् दुई हजार का राजा जगतवम १

मुसिकोट् दुई हजार का राजा जगतभुपालसिं १

इस्मा चार हजार का राजा गोविन्दसिं १

धुर्कोट् सातसये का राजा भुपेन्द्रमल्ल १

प्युठाना बाह्र हजार का राजा दिपचंद १

गजुल दुइ हजार का राजा १षुमरी सातसये का राजा १

अर्घा चार हजार का राजा विर्र्कुमार साहि १

मुसिकोट् चार हजार का राजा १

गोताम् का राजा १

रुगुम् का राजा १

योगी नरहरीनाथको विवरणमा मुसिकोट् धुरी संख्या चार हजार र मुसिकोट् घर धुरी संख्या दुइ हजार गरी दुई स्थानमा एउटै नाउँका राज्यहरु परेको र “(४३ पृष्ठ भेटिएको छैन)” भन्ने समेत उल्लेख भएबाट गुल्मीको नाउँ छुट हुन गएको होला भनी अड्कल गर्न सकिने ठाउँ रहेको छ ।

मैले इतिहासको पानाबाट उपरोक्त दुइवटा ऐतिहासिक प्रसँग बारे कुरा उठाए । प्रसंगबश उठ्ने कुराहरुको खुलदुली भने मेटिन बाँकि नै छ । ती हुन अरामुडी र जयपिदाको युद्धको प्रसंग नेपाली इतिहासमा किन उल्लेख भएन ? अरामुडी को थिए त ? जयपिदाको पुनः विजय पछि के भयो ? आदि । त्यस्तै गुल्मी जिल्लाको नाम “गुल्मी” कसरी रहन गयो त ? भन्नेवारे अन्तिम र सर्वमान्य तर्क आउन बाँकि नै देखिन्छ । यस्ता महत्वपूर्ण घटनाहरुको नेपाली इतिहासमा उल्लेख सम्म नहुनु र अध्ययन–अनुसन्धान तर्फ कुनै प्रकारको जिम्मेवारीपूर्ण पहल नहुनु दुःखद कुरा हो । आशा छ आगामी दिनहरुमा यस्तै थुप्रै ऐतिहासिक घटनाहरुका वारेमा अध्ययन–अनुसन्धान हुनेछन् र अलिखित वा विवादित कुराहरुको सही र निष्पक्ष ढंगबाट निक्र्योल हुनेछन् ।

नोटः

1. Stein, M.A. Kalhan’s Rajatarangini; A chronicle of the Kings of Kasmir, vol. I Book IV, pp.170-172

2. राजाराम सुवेदी, गुल्मी जल्लाको इतिहास , पृ. ४२
3 डि. आर. रेग्मी, Ancient Nepal, 1962, p.172

4. Michael Witzel, Nepalese Hydrology, Harvard University, 12 July 1991, p.19-20

5. राजाराम सुवेदी, पूर्ववत
6. धनबज्र बज्राचार्य, “मध्यकालका शुरुका केही अभिलेख”, सि.एन.ए.एस.जर्नल, भो. ५, नंं. १, (( दिसम्वर १९९७ ई.) पृष्ठ ४९
7. Kirkpatrick, An Account of the Kingdom of the Nepal, London, 1811.p.285
8. डा. जगदीशचन्द्र रेग्मी, नेपालको बैधानिक परम्परा, पृष्ठ ८८

9. पीताम्बर लाल यादव, नेपालको राजनैतिक इतिहास, पृष्ठ ४७–५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *