न्वाँगी र महोत्सवहरू

न्वाँगी र महोत्सवहरू

डा. मीन श्रीस मगर

नवम्बर २३, २०२१ फेसबुक

तीस चालीसको दसकसम्म पश्चिम नेपालका पहाडी बस्तीहरूमा निकै हरभरा र मानिसहरूले भरिभराउ हुन्थे । असोजबाट पाक्न थालेको धान कात्तिकसम्ममा स्याहारी सकेर मंसिरको पहिलो हप्तातिर न्वाँगी खाने गरिन्थ्यो । स्थानीय देवदेवी र पितृलाई नयाँ धानको चामल चढाएपछि मात्र गाउँलेले नयाँ चामलको भात खाने प्रचलन थियो । पहाडबाट तराई एवं शहर केन्द्रित बसाइँसराइँले तीब्रता पाउन थालेपछि गाउँघरहरू सुनसान बन्दै गए भने लोकसंस्कृतिहरू पनि लोप हुँदै गए । अहिले अाएर पुरानो संस्कृति संरक्षणको माध्यमबाट ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने अभियान थालनी भएको देखिन्छ । सरकारी स्तरबाट पनि नयाँ नयाँ पर्यटकीय गन्तव्यहरू घोषणा गरिएको छ । लोककला, संस्कृति, जैविक कृषि र पर्यटनका माध्यमबाट गाउँघरहरूलाई पुनः जीवन्त र हराभरा बनाउने उद्देश्यका साथ न्वाँगी महोत्सवहरूको अायाेजना गर्न थालिएको पाइन्छ । यो अत्यन्त सकारात्मक पक्ष हो ।

कालीगण्डकी प्रश्रवण क्षेत्रका बस्तीहरूमा न्वाँगी खाने चलनलाई न्वाँगीभेजा पनि भनिन्छ । यस भेगमा ‘भेजा’ ले महत्वपूर्ण परम्परागत सामाजिक संस्थाको रूपमा स्थान पाएको छ । मगर भाषाको ‘भयाकजा’ शब्दको अपभ्रंश रूप नै ‘भेजा’ हो । अन्न बाली लगाउने र स्याहार्ने खास खास समयमा गाउँलेहरू मिलेर सामुहिक रूपमा उत्पादनसँग सम्वन्धित स्थानीय देवदेवीहरूको पूजा गर्ने परम्परालाई परम्परागत धार्मिक संस्था भेजाले नियमन (govern) गरेको हुन्छ । न्वाँगी वा न्वाँगीभेजाले धान बाली स्याहारेपछि गरिने पूजाआजालाई बुझाउँद छ । पुरानो समयमा न्वाँगी कार्यक्रमको दिन तोक्ने काम गाउँका मुखिया, जिम्माल, उमरा आदिले गर्दथे । अहिले गाउँका बुढापाका एवं अगुवाहरूले मंसिरको १, ३ वा ५ गते न्वाँगीको दिन तोक्ने गरेको पाइन्छ ।

मातृशक्ति देवीलाई नै उर्वराशक्तिको प्रतीक मानेर गाउँको सिरानमा रहेको देवस्थलमा न्वाँगी खाने दिन सबै घरकुरियाबाट नयाँ धानको चामल चढाउनुका साथै बाजागाजा सहित बलिपूजा गर्ने र बन्दुक पड्काउने चलन पाइन्छ । चामल, दही, केरा र सिलाम मिसाएर प्रसाद बनाउने गरिन्छ । उक्त प्रसादको टीका लगाए सबैले खाने गरिन्छ । न्वाँगीको अवसरमा पाहुना बोलाएर खानपिन गर्ने चलन पनि रहेको पाइन्छ ।

हालैका वर्षहरूमा न्वाँगी संस्कृतिलाई महोत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । वागलुङको बडिगाड गाउँपालिका, पाल्पाको दोभान लगाएतका स्थानहरूमा न्वाँगीलाई भव्य महोत्सवका रूपमा ३-४ दिनसम्म मनाउने गरिएको पाइन्छ । लापोन्मुख अवस्थामा पुगेका कृषिसँग सम्वन्धित गाउँघरका स्थानीय चाडवाडहरूलाई यसरी उत्सवकै रूपमा मनाउने अभियानको थालनीले धेरै राम्रा र सकारात्मक सन्देशहरू प्रवाह हुन्छन् । पहाडबाट बसाइँ सरेर तराई एवं शहरी क्षेत्रमा पुगेकाहरू र तिनका सन्ततिहरूलाई आफ्ना पुर्ख्यौली थलो र त्याहाँको लोकसंस्कृति प्रति सद्भाव जगाउने तथा नयाँ सम्बन्ध स्थापना गराउने कार्यमा यस्ता महोत्सवहरूले महत्वपूर्ण योगदान पुगाउन सक्दछन् । लोप हुनै लागेका सांस्कृतिक धरोहरहरू मारूनी, घाँटु, कौरा, यानीमया, सालैजो, चुड्का, रोइला आदि लोकगीत, नाट्य र नृत्यहरूले पुनर्जीवन पाउन सक्छन् । लाेकसंस्कृतिको प्रचार प्रसार तथा प्रबर्द्धनका साथै स्थानीय लोकप्रतिभाहरूको पनि कदर र सम्मान वृद्धि हुन्छ । यस्ता महोत्सवहरूले परम्परागत सीपमा आधारित हस्तकलालाई प्रवर्द्धन गर्नुका साथै ग्रामिण पर्यटन विकासमा टेवा पुगाउने हुँदा स्वरोजगारको वातावरण सिर्जना हुन गई गाउँबाट अन्यन्त्र बसाइँसराइँको तीब्रतालाई केही हदसम्म नियन्त्रणमा ल्याउन सघाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *