मित्रको डायरी

मित्रको डायरी

(विजय हितानद्वारा उधृत ‘मास्टर मित्रसेन र उनका सिर्जना’ (पृष्ट ९३– १११) बाट)

आफ्नो जीवनको धेरैजसो भाग देशी वा गोर्खाली जनताको सेवामा बिताएपछि १३ जुलाई १९४४ को दिन दाडी गाउँ, धर्मशाला (भाग्सू) जिल्ला, काँगडामा मैले आफ्नो बाँकी जीवन ‘गोर्खा सतसंग प्रचारिणी सभा’लाई समर्पित गर्ने फैसला गरेँ । यो सभाको स्थापना पनि आजै त्यहाँ गरियो । सभाका प्रमुख कार्यकर्ताहरूमध्ये कप्तान बहादुरसिंह बराल, मास्टर नत्थुराम बिएबिटी, पेन्सनर जम्दार रामकृष्ण, थानेदार दुर्गासिंह र पेन्सनर सुवेदार दयारामज्यू बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

 प्रतिज्ञा त भयो तर केटाकेटीले गरेको कुराझैँ पो हुने हो कि भन्ने डर पनि मनमा उत्पन्न भयो । एकापट्टि परिवारको निर्वाह र अर्कोपट्टि समाजसेवाको उत्कट अभिलाषाले मन विचलित हुन थाल्यो । तर परमात्मामा मेरो अटल विश्वास रहेको हुँदा र निस्वार्थ भावनाले समाजको सेवा गर्ने दृढ अठोटले गर्दा के खाउँला, के लाउँला भन्ने चिन्तालाई परित्याग गरी म समाजसेवाको सत्य मार्गतर्फ नै लागेँ । सभाका कार्यकर्ता भला आद्मीहरूलाई पनि यही नै चिन्ता रहेको रहेछ । अघिअघि पनि धर्मप्रचारको काम गर्दै रहन्थेँ तर त्यसबेला त केही न केही आम्दानीको बाटो राखेकै थिएँ । एक सानो पसल (दोकान) गाउँ तातोरानी (भाग्सू) मा उहिले बाबुकै पालादेखि चलाउँथँे र निर्वाह राम्रो गरी भएकै थियो । तर आजभोलिको विश्वव्यापी युद्धले गर्दा रेलवेले माल बुक नगर्ने, खोजेको माल बेलामा नपाइने, कहिले कतै अलिकति माल पाए तापनि साह्रै महङ्गो पाइने, सरकारले भने यस दरभन्दा बढ्ता दाम कसैले लिने छैन भनी धेरै चिजको दरभाउ बाँधिदिएको, आफूलाई चैँ त्यो भाउमा नपुग्ने । साह्रै अप्ठ्यारो पर्न गयो अन्त पसलको काम बन्द गर्न बाध्य भएँ । कसैसँग केही नलिई आफ्नो भिन्दै सात्विक कमाइ गरी परिवार निर्वाह गर्ने अनि बाँचेको समयमा जनताको सेवा गर्ने मेरो विचार । तर यस विचारलाई पूरा हुन नदिने एउटा अर्को कारण पनि थियो, म सन् १९४० को श्रावण मासदेखि रोगग्रस्त भएको बल्लबल्ल यस साल (सन् १९४४) मा बिरामीले अलिकति छोडेको छ तर पूर्ण रोग नाश नहुनाले शरीर साह्रै निर्बल छ । कुनै प्रकारको सात्विक कमाइ गर्न सक्ने बल शरीरमा छैन । अतः सभाको निर्णयअनुसार समाजकै माथि परिवारको भार थोपी, नाम मात्रको, ढाँट स्वयम्सेवक हुन स्वीकार गरेँ । छिः छिः कति नसुहाउँदो कुरा गर्दै छु, कति ठूलो आत्मघात म गर्दै छु । यस्तो आत्मग्लानि लिएर मैले सभाको कारवाही बहीमा हस्ताक्षर गरिदिएँ । सभाको तर्फबाट मलाई सर्वप्रथम नौतुना गएर प्रचार गर्नू भन्ने हुकुम भयो । आदेश पाउनसाथ घरादिको बन्दोबस्त मिलाई परिवारसहित नौतुना जान तयार भएँ । घर अनि दोकान दुवै २२ रुपियाँ मासिक किरायामा दिएँ, त्यस किरायाबाट १५० रुपियाँ लिएँ, डेढ सय जति रुपियाँ मैले ऋण पनि तिर्नु थियो । अतः बाटो खर्च पुग्दैन कि भनी मैले १८ जुलाईमा एक पत्र कप्तान साहेब बहादुरसिंह बरालज्यूका हजुरमा पठाएँ । पुगनपुग बाटो खर्चका लागि १०० रुपियाँको सहायता गर्नुहोस् । आस थियो, कप्तान साहेबले अवश्य रुपियाँ पठाइदिनुहुने छ तर २७÷७÷४४ को दुई बजेसम्म बाटो हेर्दा पनि रुपियाँ आइपुगेन । मनमा अनेक कुराहरू खेल्न थाले । मैले भने १÷८÷४४ देखि घर अर्कैलाई किरायामा दिइसकेको, पहिला अगस्तको बिहानै घर अवश्य छोड्नु थियो । तर बाटो खर्चलाई कसो गरुँ ? ऋण नदिऊँ भने पनि नहुने । ऋण दिऊँ भने बाटो खर्च नपुग्ने । केकति कारणले कप्तान साहेबले रुपियाँ पठाउनुभएन ? उहाँले त बचन दिनुभएको थियो, ‘जहिलेसम्म सतसंग प्रचारिणी सभामा धन एकत्र भएको छैन, म पूरा गरुँला ।’ उनकै आशाभरोसामा मैले यो कार्यभार उठाउने निश्चय गरेको थिएँ, किनभने आज १५– २० वर्षदेखि ठाउँठाउँ गोर्खाली संसारमा प्रचार गरी हिँड्दा, अन्तरआत्माले जातिको हित चिताउने अनि जातिका लागि तन, मन, धन सबै अर्पण गरी कर्तव्यक्षेत्रमा हामफाल्ने जातिप्रेमीहरू मैले कप्तान साहेब बहादुरसिंह बराललाई भेटाएको थिएँ ।

तर २८÷७÷४४ सम्म पनि न केही पत्र आयो न रुपियाँ । के कप्तान साहेबले आफ्नो विचार अर्कै गर्नुभएर हो कि ? तुरुन्तै एउटा एक्सप्रेस तार २८ जुलाईको तीन बजेमा धर्मशाला छाउनीको तारघरबाट पठाएँ, ‘पहिला अगस्तमा हिँड्ने विचार छ, हजुरको के आज्ञा छ ?’ जसको उत्तर २९÷७÷४४ को तीन बजेमा ‘हुन्छ आऊ ।’ भन्ने तारद्वारा पाएँ । त्यो तार नपाउँदासम्म त अब अघिकै झैँ स्वतन्त्र प्रचार गर्नुप¥यो भनी ठाउँठाउँको प्रोग्राम बनाउँदै थिएँ । सो तार हात पर्दा मन ढुक्क भयो, प्रोग्राम त नौतुनैको भयो, तर खर्च कसो गर्ने ? साहुको ऋण पछि तिरुँला भन्ने निश्चय गरी १ अगस्तको बिहान साढे आठ बजे डाकमोटरमा पानीले भिज्दै घर छाडी हिँड्यौँ । गग्गल, शाहपुर, कोटला सबै ठाउँमा झमझम पानी पर्दै थियो । मोटरको छानामा राखेको सामानमाथि त्रिपाल ओढाइएको थियो । तर पूरा नछोपिएको हुनाले असबाब सब भिजिसकेको थियो । भाल्ली भन्ने ठाउँबाट कोटलासम्म त झन् मोटर पाँच माइल प्रतिघण्टाको हिसाबले हिँड्न लाग्यो । ठाउँठाउँमा पहिरो गएर सडकै थुन्निएको, डाँडाहरूका खोल्चाखोल्चीको भल जम्मै सडकको माझमा बगिरहेको थियो, मानो सडक के थियो ? एक खासा ठूलो खोलाझैँ थियो । जसोतसो गरी चक्की नदी पार भयौँ, बल्ल पानी पनि थामियो । झण्डै दुई बजेतिर हामी पठानकोटको रेल स्टेशननेर आइपुग्यौँ । रेलैको बाटो जाऔँ भनी मैले स्टेशनैमा असबाब उतार्न लगाएँ । हत्तपत्त टिकेट बाबुकोमा गएर टिकट मागेँ । ‘टिकट दिने समय भएको छैन ।’ भन्यो । तर दुनियाँ लोभी छन्, दुईचार पैसा अप्ठ्यारो परेका परदेशीबाट फुत्काउनका लागि पनि अहिले समय भएको छैन भनी भन्छन् । सो कुरा विचार गरी तिनीहरूलाई पानफूलका लागि भिन्दै भेटी चढाएँ र बल्ल चार टिकेट पठानकोटदेखि गोरखपुरसम्मको ८३ रुपियाँ १२ आना खर्च गरी इन्टर किलासको लिएँ । थर्ड किलासको टिकट लिएर मजस्तो रोगीले सफर गर्नु आजभोलि साह्रै कठिन छ । भित्र ठाउँ नपाएर झुन्डिएर मुसाफिरहरू सफर गर्छन् । रेलमा ठाउँ नपाएर तीनचार दिनसम्म स्टेशनमा मानिसहरू थुप्रिएका देखिए । माराकुटी घुचेटाघुचेटमा निर्बल मानिसहरू कसरी सफर गर्न सक्छन् ? भएन भनेर सँगमा मेरी स्त्री अनि ८५ वर्ष पुगेकी बृद्ध महातारी पनि हुनुहुन्थ्यो । हुल त आजभोलि सबै किलासमा हुन्छ तर इन्टर किलासमा पढेलेखेका भला आद्मीहरू नै धेरै हुन्छन्, अलि मारकुट घुचेटाघुचेट हुँदैन । बस्ने ठाउँ नपाए पनि उभिने ठाउँ त अवश्य पाइन्छ । यस्तो विचार गरी इन्टर किलासको टिकट लिन करै लाग्यो । टिकट लिएर माल बुक गराउन भनी गएँ । त्यहाँ पनि बाबुले आलेटाले कुरा गर्न थाल्यो । यसले खोजेकै हो भन्ने ठानी त्यसलाई पनि भेटी चढाएँ । भेटी पाउनसाथ झट्टै माल जोखजाख पारी बिल्टी काटी हातमा थमायो । जम्मै कुरा ठिकठाक पार्दा मलाई रुपियाँ पाँच बेसी खर्च गर्नुप¥यो । यताउता सोधपुछ गर्दा थाहा भयो कि एक डब्बा (कोच) तीन बजेमा पठानकोटबाट अमृतसर जान्छ, पाँच बजे अमृतसर पुग्छ र सात बजेर चालीस मिनेटमा अर्को रेल अमृतसर– हावडा मेल छुट्छ । तर त्यसमा साह्रै हुल हुन्छ । हुल भएपनि जसोतसो त्यसै डब्बामा जाऔँ भन्ने निश्चय भयो । डब्बा आइपुग्यो । कस्तो हुल थियो, मलाई यहाँ वर्णन गर्न पनि गाह्रै छ । एक खासा मल्ल युद्ध मचियो, बृद्ध महतारीलाई लिईकन त्यस घचारोमा कसरी पसौँ, म आफैँ कमजोर । कोही भित्रबाट बाहिर झर्ने, कोही बाहिरबाट भित्र चढ्न खोज्ने । रेल डब्बाको ढोकामा ठ्याम्मै बुजो लागेजस्तो भयो । न बाहिरको भित्र पस्न सक्ने न भित्रको बाहिर आउने सक्ने, यस्तै संघर्षमा हामी पनि जुझ्दै थियौँ । यत्तिकैमा एउटा पुलिसको सिपाही आएर ढोकामा उभियो र पहिले भित्रका मुसाफिरहरूलाई बाहिर उतारेर बाहिरकालाई भित्र चढायो । त्यस्तो गर्नाले घचारो भए तापनि मानिसहरूले ठाउँ पाइहाले । रेलगाडी पाँच बजे अमृतसर पुग्यो । उहाँ फेरि उस्तै धक्कापेल सुरु भयो । त्यस घचारोमा च्यापिएर प्राण निस्किन्छ क्यारे भनेझैँ भयो । बूढीमाउलाई जोगाउन कठिन प¥यो । बलिया मानिसहरू त टाउको टाउकोमा टेक्नेझैँ गरी फाल काट्न लागे । न ओर्लिन सक्ने न आफ्नो ठाउँमा फर्किन सक्ने । बल्लबल्ल फर्किने बाटो पाएर आफ्नै ठाउँमा गएर बस्यौँ । आठदश मिनेटपछि घचारो अलि कम्ति भयो र घचेटघचाट पारेर बाहिर निस्क्यौँ । पहिले हाम्रो सल्लाह थियो, लुक्सरसम्म यसै गाडी (कलकत्ता मेल) मा गएर त्यहाँदेखि हरिद्वार जाऔँ, आमालाई सँगै ल्याउने मुख्य कारण पनि दुईचार तीर्थ घुमाइदिऊँ भन्ने थियो । तर त्यस घचारोले गर्दा आमाको मन फेरियो । ‘भयो, पछि फर्कंदा सुविस्ता प¥यो भने हरिद्वार स्नान गरुँला, अहिले चाहिँ सोझै जाऔँ, काशी जान पाइयो भने हरिद्वारको महात्म्य पनि भइहाल्छ ।’ अन्त यही निर्णय भयो र सोझै लखनौ उत्रियौँ । राति दश बजे गोरखपुरको गाडी चढी ३ तारिखको बिहान ७ बजे गोरखपुर पुग्यौँ । कप्तान बराल साहेबको दर्शन भयो अनि थाहा भयो कि उहाँले १४÷७÷४४ मा १०० रुपियाँ मनी अर्डर गरेर पठाइदिनुभएको रहेछ । तर कुन्नि के कारण प¥यो पैसा चाहिँ मेरो हात परेन । माल असबाब नआइपुगेको हुनाले तीन दिन कप्तान साहबकै पाहुना भएर बस्यौँ । ५ तारिख साँझको गाडीमा बसी राति डेढदुई बजे नौतुना पुग्यौँ । कप्तान कालुकहाँ हाम्रो डेराको बन्दोबस्त रहेछ । सो त्यहाँ पुगी रात बितायौँ । बिहान भयो, सुवेदार साहेब गिरधारी बिष्ट, जो त्यहाँ एसिस्टेन्ट रैकरुटिङ अफिसरको काम गर्दै हुनुहुन्थ्यो, आउनुभयो अनि उहाँले रासनपानी इत्यादिको बन्दोबस्त मिलाइदिनुभयो । १० अगस्त १९४४ (बिहीबार) मा सतसंगको पहिलो कार्यक्रम नौतुनामा राखियो । ११ अगस्त (शुक्रबार) कृष्णजन्माष्टमीको उत्सवमा भाग लिनका लागि निम्त्याइएको हुनाले म र मेरो छोरो दिग्विजयसेन कुँडाघाट (गोरखपुर) मा गयौँ । राति नौ बजेदेखि साढे बाह्र बजेसम्म कालीमन्दिरमा धुमधामसँगले कथा, वार्ता र भजनगायन गर्ने अवसर पायौँ । बिहानैको गाडीमा नौतुना फर्किने विचार थियो । तर, कुँडाघाटका जनताहरूले मानेनन् । १२ अगस्तको दिन दुई बजेदेखि साढे चार बजेसम्म स्कुल भवनमा अनि साँझ सात बजेदेखि नौ बजेसम्म हेडक्लर्क जम्दार साहेबको घरमा सतसंग प्रचारको कार्यक्रम साजसङ्गीतको साथमा सम्पन्न गरियो । १३ अगस्त (आइतबार) मा पनि यस्तै प्रकारको प्रोग्राम दिनभरि चलि नै रह्यो । मेरो भने आङको लुगा पसिनाले डुङ्डुङ्ती गन्हाउन थाल्यो । कुँडाघाटका गोर्खाली जनताले पचास रुपियाँ सतसंग प्रचारिणी सभालाई दान गरे । १४ अगस्तको बिहानै रेलगाडीमा बसी दिउँसो डेढ बजे नौतुना फिर्ता पुग्यौँ । अति बिसञ्चो हुनाले दुई दिन आराम गरी १६ अगस्तदेखि फेरि सतसंग प्रचार कार्यक्रम नियमित पाराले सुरु भयो । हर आइतबार अनि बिहीबारमा बिहान ८ बजेदेखि १० बजेसम्म सतसंग (ढोगभेट) प्रोग्राम हुन्थ्यो, बाँकी दिनको प्रचार कार्यक्रम बेलुकी पाँच बजेदेखि सात, साढे सात बजेसम्म हुन्थ्यो ।

अब नौतुनाको अलिकति परिचय दिन जरुरी सम्झन्छु । विशेषगरी पश्चिम खण्डको गोर्खाली लाहुरे अनि पेन्सनेहरूको पहाड आउने जाने ठूलो गौँडा नौतुना हो । हामीले यसलाई ‘नौतुना’ भन्छौँ । यो अङ्ग्रेज राज्यभित्र एउटा सानो शहरको रूपमा छ । त्यहाँ रेलको आखिरी स्टेशन छ । नौतुनाबाट झण्डै नौ कोस टाढामा बटौली भन्ने एउटा नगर पहाडको घ्याँचमा तिन्हुँ खोलाको छेउमा बसेको छ । त्यहाँबाट अङ्ग्रेज राज्य सकिएर नेपाल राज्य सुरु हुन्छ । हुन त नौतुना अङ्ग्रेज राज्यमा छ तर अङ्ग्रेजले अरू ठाउँमा जस्तो बन्दोबस्त मिलाएर राखेको छ, त्यस्तो बन्दोबस्त नौतुनामा मिलाएको झैँ बुझिएन । यहाँ लाख रुपियाँको व्यापार हुन्छ । धनी धनी मारवाडी शेठहरू यहाँ व्यापार गर्छन्, नगर पनि ठूलै छ तर कोही अड्डाअदालत अथवा थानापुलिस यहाँ छैन । सिर्फ दुईतीन जना पुलिसे सिपाही बस्छन् । यो नौतुना शासक नभएको प्रदेशजस्तो छ । जसलाई जे मन प¥यो उही गर्दै छन् । केही दरभाउ निश्चित छैन । एक रुपियाँको माल छ, सात रुपियाँको दरमा लाटोसुधो लाहुरेहरूलाई बिक्री गरेका छन् । दोकानदार (पसलेहरू) यति अहङ्कारी ठूला भएका छन् कि सितिमिती बाहिरका मानिसहरूसँग कुराकानी पनि गर्न मन पराउँदैनन् । लाहुरेहरूलाई मात्र आउनुहोस्, बस्नुहोस् भनी फस्ल्याङफुस्लुङ पारी अनीतिको कमाइले आफ्नो ढुकुटी भर्दै छन्, कसैको डर रत्तिभर छैन । यहाँ न सरकारको डर न परमात्माको भय । यस्ता आफूपन्थे नास्तिक, सुनचाँदीका पुजारीहरू मात्र नौतुनामा देखियो ।

अन्दाजी एक सय गोर्खालीहरू होटल खोली भट्टी थापी बसेका छन् । यिनीहरूले देशतर्फ जाने अनि छुट्टी पेन्सनमा पहाडतिर फर्कने गोर्खालीहरूलाई भातरोटी पकाएर ख्वाउँछन् । परदेशीलाई भात पकाएर ख्वाउनु अनि मुनासिब दाम लिनु असल कुरा हो, धर्मको धर्म हुने अनि धनको धन पाइहाल्ने । तर यहाँ अर्कै जङ्गली चाल देखियो । हरेक भट्टीमा डम्फुमादल साथै तरुनी आइमाईहरूको चडकभडक छ । उनैका हातबाट रक्सी ख्वाई लाहुरेहरूलाई जोशमा ल्याउँछन्, अनेक प्रकारको छाँट झिकी मखौल ठट्टा गर्दै गीतमा तानाबाना मार्दै मनलाई विषय बास्नातिर तान्छन् र एकै रातमा एक लाहुरेबाट काफी ज्यादा रुपियाँ फुत्काउँछन् । प्रत्येक भट्टीमा दशपन्ध्र लाहुरेहरू त कमसे कम बसेकै भेट्छौँ । यस हिसाबले एक मामुलीभन्दा मामुली भट्टीवालाले एक रातमा कम्ति भनेको तीन सयजति रुपियाँ लाहुरेहरूबाट खसाल्छन् । ओहो ! कस्तो अनीति, कस्तो अधर्म सय ठाउँमा चलेको छ !

२४ अगस्त १९४४ को राति साह्रै गर्मी हुनाले म राम्ररी निदाउन पाइनँ, अढाई बजे रातदेखिन् हरेक होटलवालाले आफ्आफ्ना झोलामा पाँच छ बोतल हाली हातमा टर्चबत्ती वा लाल्टिन लिएर गल्याङगुलुङ कुरा गर्दै बिहानसम्म रक्सी ओसारेको नजारा मैले कहिले पनि भुल्ने छैनँ । रातभरि भट्टीभट्टीमा मादल बज्दै थियो । बिहानपख मोटरभित्र लाहुरेहरू अटाई नअटाई अनि छानामाथि पन्ध्रबीस जना बसेका थिए । माल बोक्ने लरीले पनि लाहुरेहरूलाई धमाधम ओसार्दै थियो । विश्वयुद्धको बेला आजभोलि लाहुरेहरूको ओहोरदोहोर खुबै तेज भएको छ । रोजै इस्पेशल गाडीले पाँचसात सय गोर्खाली जवानलाई गोरखपुर पु¥याउने अनि त्यहाँबाट ठाउँठाउँ पल्टनहरूमा लैजाने गर्दै छ । लाउरेहरूका पासमा रुपियाँ पैसाको कमी छैन । हजारबाह्र सय त जाबो एउटा मामुली सिपाहीले छुट्टीमा जाँदा बोकेकै हुन्छ । कति तरुनीहरू त मोटर अड्डासम्म लाहुरेहरूका पछिपछि गई कसैको लाज नमानी लाहुरेहरूसँग हात हाली चल्छन् अनि पाँचदश फुत्काएर ल्याउँछन् । कति आइमाईले राति विचेत भएका लाहुरेहरूका जम्मै रुपियाँ झिकेर लुकाइदिन्छन् र ती बरा घरमा पनि नगई त्यहाँबाट छाउनीतिर रित्तै फर्कन्छन् । बटौलीतिर त कति लाहुरेहरूलाई भट्टीवालाले लुटपिट गरी प्राणसमेत हरेर राति जङ्गलमा फालेर आउँछन् भन्छन् । यस विषयमा कुनै नौतुना निवासी भला आद्मीसँग कुरा ग¥यो भने यस्तायस्ता डरलाग्दा कुराहरू सुनाउँछन् कि यो आँङ त्यसै जिरिङ्ग भएर आउँछ । हामी सर्वत्र नाम पाएका बहादुर र इमान्दार गोर्खाली हौँ भन्ने कुरा त यहाँ छँदै छैन । जातिको गौरव भन्ने के हो कसैले बुझेको छैन । कति जना तरुनीहरू मदेशेसँग अँगालो मारी बजार बजार डुल्छन् । कतिजना गोर्खालीहरूले यहाँ आइमाई बेच्ने काम पनि गर्छन् भनी थाहा भयो ।

पहाड घरतर्फ गई रुपियाँ पैसाको लोभ र झिलिमिली लुगालत्ता देखाई लाटीसुधी केटीहरूलाई फस्ल्याङफुस्लुङ पारी साथमा लिएर आउँछन् अनि टाढाटाढा मधेशमा लगेर बेचिदिन्छन् । उहिले उहिले म पञ्जाबका जम्मै शहर गाउँमा धर्मप्रचारनिमित्त डुल्ने गर्थें । प्रत्येक सानोभन्दा सानो नगर अनि गाउँमा पनि दुईचारजना गोर्खाली आइमाई पन्जाबिनी भएर बसेकी मैले आफ्नै आँखाले देखेँ । मनैमनमा साह्रै दुखित भएर विचार गर्थें कि यतिका धेरै गोर्खाली आइमाईहरू कसरी यति टाढा यहाँ छापिन आइपुगे ? आज नौतुनाको हालचाल देख्दा अनि सुन्दा नबुझेका कुराहरू बल्ल बुझेँ । नौतुना मात्र होइन, यसप्रकार घिनलाग्दो व्यापारका अड्डा रक्सौल वीरगञ्ज इत्यादि ठाउँहरूमा पनि रहेछन् भनी मैले चाल पाएको छु । नेपाल सरकारले कुनै तरुनी आइमाईलाई बिनाजाँचको मदेशतर्फ जान नदिनू भन्ने कडा हुकुम जारी गरेको छ । सबै अड्डा चौकीहरूमा रोकथाम हुन्छ । तर पनि यी आइमाईहरूलाई कसरी कुन बाटो निस्काएर लैजान्छन् ? ती जात फाली दुःख पाएकी आइमाईहरूसँग मैले त्यहाँ (पञ्जाबमा) भेटेर कुरा गर्न धेरैपटक कोशिस गरेँ तर ती आइमाईहरूलाई जसै थाहा हुन्थ्यो कि यो गोर्खाली हो, एकदम लुकिजान्थे, सामने पर्दैनथे । म दङ्ग पर्थें, म त झन् आफ्नै दिदीबहिनी भनेर मायाले कुरा गर्न खोज्थेँ तर उनीहरू मलाई देखेर भाग्ने किन ? धेरै वर्षपछि आज त्यसको अर्थ पनि बुझ्न सकेँ । उनीहरूको श्रद्धा, विश्वास र मायाप्रेम गोर्खालीप्रति रित्तिइसकेको थियो । तिनीहरूको हृदयले गोर्खालीलाई सायद यसरी धिकारिरहन्थ्यो होला ‘हे निच पापी स्वास्नी बेचुवा गोर्खाली जाति, हामी गरिब अवलालाई धोकामा पारी हाम्रो जीवनलाई सधैँका लागि नाश पारिदियौ । अब कौन मुखले हामीसँग कुरा गर्न आएको ? जाऊ, हामी दुखी छौँ वा सुखी, हाम्रो सोधपुछ गर्नुपर्दैन । हाम्रा घर, इष्टमित्र, दिदीबहिनी र आमाबाबुसँग सधैँका लागि छुट्याई विदेशमा थुनुवा बनाउने निच गोर्खाली हो, जाऊ हामी तिमीहरूको मुख हेर्दैनौँ ।’

नौतुनामा गोर्खालीको यस्तो नजाती अवस्था देखेर जाती हितैषी कप्तान साहेब बहादुरसिंह बरालको मनमा साह्रै दुख लाग्यो र उहाँले केही समय अघिदेखि नै यहाँ सतसंग (ढोग) को साप्ताहिक कार्यक्रमद्वारा समाजसुधारको काम थाल्नुभएको रहेछ । त्यस सतसंगको प्रभावले गर्दा रुपियाँमा एक या दुई आना सुधार अवश्य भएको होला जस्तो लाग्छ । जहिलेसम्म कप्तान साहेबले नौतुनामा रैकरुटिङ अफिसरको काम गर्दै रहनुभयो उहिलेसम्म नौतुनामा काफी राम्रो सुधार हुँदै गयो । कप्तान साहेब यहाँबाट बदली भएर कुँडाघाट (गोरखपुर) जानुभएपछि उप्रान्त आजभोलि सुवेदार साहब गिरधारी बिष्टले कप्तान साहेबको पदभार सम्हाल्नुभएको छ । बिष्ट साहेबले पनि सतसंगको कार्यक्रमलाई झन् राम्रो ढङ्गले चलाइराख्नुभएको छ । यसै सतसंग प्रथालाई अझ बलियो बनाउन ससङ्गीत धर्मप्रचारको उद्देश्यले गोर्खा सतसंग प्रचारिणी सभा धर्मशाला (भाग्सू) ले मलाई नौतुना खटाइपठाएको हो ।

सतसंग भजनको नियमित कार्यक्रमबाहेक मैले यहाँ कथा पुराण, गायन गरेर सुनाउँदै अनेक प्रकारको धर्म उपदेश दृष्टान्त दिएर जनतालाई असल बाटोतिर हिँडाल्ने कोशिस गर्दै छु । तर संसारको एक छेउबाट अर्को छेउसम्म, पूर्वपश्चिम, उत्तरदक्खिन कतै गएर हेरे पनि यस वर्तमान कालमा लोभ नभएको मानिस कहाँ कता पाइएला ? सबैको मनमा एकैनासे लगन छ कि कुन सजिलो भन्दा सजिलो ढङ्गले म धेरैभन्दा धेरै धन जम्मा पार्न सकूँ । अनपढ र दुष्ट भए तापनि यदि उसैको सँगमा धेरै धन छ भने उसले संसारमा मान, प्रतिष्ठा पाएकै छ । समाजसुधारक विद्वान्हरूले पनि यस्तै उपदेश ठाउँठाउँमा दिँदै हिँड्छन् । साँचै भनुँ भने उन्नतिको मूल जरो धनै रहेछ । धनले गर्दा युरोप र अमेरिकाका सम्पन्न जातिहरूले संसारमा कस्ताकस्ता काम गरी देखाए अनि देखाउँदै छन् । धार्मिक गुरुहरूको पनि आजको समयमा यस्तै भनाइ छ, धन भएमा दान, पुन्य, तीर्थ, व्रत इत्यादि हुन सक्छ, परमात्मा प्राप्तिका लागि पनि धनैको खाँचो छ । समस्त भूमण्डलमा पैसा खुबै कमाउने हो भन्ने प्रचार बढेको छ भने नौतुना निवासीले केही अर्घेलो काम गरेको त म देख्दिनँ । आफ्आफ्ना योग्यताअनुसार यिनीहरूले पनि संसारको देखादेखीमा धन कमाउँदै छन् । रक्सी बेची कमाएको धन भनुँ भने रक्सी नबेच्ने जाति आज संसारमा को छ होला ? मैले पश्चिम एसिया र युरोपका साना ठूला धेरै शहरहरू घुमी राम्ररी देखेको छु । ती धनी देशहरूमा रक्सीको पसल गन्ती नगरिसक्नु छ । जता जाऊँ रक्सीकै पसल मात्रै छ, प्रत्येक पसलमा रक्सी बिक्री गर्ने तरुनी आइमाईहरू छन् । जस्तो हाम्रो नौतुनामा मादल, डम्फु बजाएर गीत गाउँछन्, उस्तै प्रकार उहाँ पनि प्यानो, वायलिन, साज बजाएर तरुनीतन्देरीहरू सँगसँगै मिलेर नाचगान अनि खेलठट्टा, हाँसो गर्छन् । नौतुनामा केही अनौठो कुरा मैले देखिनँ यदि धन कमाउँदामा केही पाप हुने रहेछ भने त्यसको उपाय पनि त हाम्रो समाजमा छँदै छ, सालमा एकपटक श्री सत्यनारायण भगवान्को पूजा गरेमा जम्मै पाप सजिलैसँगले पखालिन्छ ? ‘जाऊ, मित्रसेन नौतुना गएर सतसंग प्रचार गर ।’ भनी मलाई यहाँ खटाइपठाएको कुरा सत्य हो तर नौतुनाको हालको अवस्थालाई देख्दा कस्तो प्रकारले समाजसुधारको कुरा यहाँको जनताको सामुने राखुँ ? रक्सीको खण्डनमण्डन गर्ने कि नगर्ने ? लाहुरेहरूलाई लुटपिट नगर भन्ने कि चुपचाप लागी बस्ने ? मैले सुनाउँदै गरेको उपदेशको प्रभाव यहाँ असल पर्दै छ वा उल्टो ? मनमा अनेक प्रकारका चिन्ता, शङ्का चलिबस्छ । सबैमा धन जम्मा पार्ने इच्छा प्रबल छ किनभने धनैमा शक्ति छ । हरेक मानिसले राम्रो लाऊँ, रेलमोटरमा सफर गरुँ, ठूलो घर बनाऊँ, जमिन जग्गा बढाऊँ, सन्तानलाई खुबै पढाऊँ, सभासमाजमा मानइज्जत पाऊँ भन्ने चाहना गर्छ । यो प्रत्येक कुरा पूरा हुन सक्छ, मात्र पैसाको शक्तिले । पैसा उपार्जनका निम्ति कसैले नोकरी, चाकरी गर्दै छन्, कोही जमिनजग्गा कमाउँछन्, कति सौदाव्यापारपट्टि लागेका छन्, कोही चोरीडाँका गरेर अथवा धर्मकर्मका आडमा जीवन निर्वाह गर्ने छन् भने नौतुनावासीले आफ्नो धन उपार्जनको यस्तो सजिलो बाटो किन छोड्ने ? यो सतसंग (समाज सुधार) कार्यक्रमले केकति प्रभाव यहाँ पार्न सक्यो अथवा पार्नसक्छ अन्दाज लगाउन अलिक गाह्रो छ । तर हामी गोर्खाली हौँ भन्ने आत्मगौरव अब अलिअलि यहाँ जागेको जस्तो मलाई लाग्छ ।

३१ अगस्त १९४४ (बिहीबार) मा नौतुनाको एक भागमा हाम्रो सतसंग प्रचार (जाति सुधार) कार्यक्रम समाप्त भयो । समाप्तिका दिन श्रद्धालुजनले सिदा लिएर आए । जम्मै सिदादी जम्मा पारेर अघिल्लो दिन हाम्रो डेरामा पु¥याइदिए । तीसपैँतीस सेर चामल दुई छटाँक मसला, बेसार, नुन र एक छटाँकजति घिउ । यसबाहेक सतसंग प्रचारिणी सभालाई ३५० रुपियाँ दान प्राप्त भयो । हवल्दार सेतु आलेले चाहिँ कुन्नि किन हो कति रोक्दा पनि सुरुको दिनदेखिन् कहिले केही, कहिले केही सामान लिएर आउनुहुन्छ । मेरो आत्माभित्रको आवाजले भन्छ, ‘मित्र सिदा लिने काम तैँले निको गरिनस् ।’ तर श्रद्धाले दिएको सिदापानीलाई निरादर गर्नु पनि त उचित ठहरिँदैन । हामी चारजना परिवारमा छौँ । बाहिरबाट हामीलाई कुनै प्रकारको आम्दानी छैन । दिनभरि जाति सुधारका कुराहरू कथा, कविता, निबन्ध, गीत, भजन आदि लेख्छु । साँझ प्रचारकार्यमा लागिरहन्छु । शरीर अझ राम्रो तङ्ग्रिएको छैन । यहाँ सौदा पत्ता साह्रै महङ्गो छ । मामुली मोटो चामल एक रुपियाँको एक सेर, घिउ रुपियाँको पाँच छटाँक, तेल बाह्र छटाँक, आँटो दुई सेर । गृहस्थमा सबै थोक चाहिने । लुगाफाटा पनि सफा राख्नुप¥यो । सागतरकारी महङ्गो बेसाहामा मेरो पारिवारिक खर्च कम्तिमा भनेको ५० रुपियाँ मासिक त अवश्य होला । मेरा मित्र कप्तान बरालज्यू अनि सुवेदार बिष्टज्यूले मेरो र मेरो परिवारका लागि सकेसम्म मद्दत गरि नै रहनुभएको छ ।

जातिसेवाले तप र त्यागको माग गर्छ तर यसभित्र एक अजिव किसिमको आनन्द पनि छ । यसै आनन्दको लोभले गर्दा राधा फिल्म कम्पनीको डाइरेक्टरको प्रलोभन जालबाट म बाँच्न सकेँ । ‘डेढ सय रुपियाँ मासिक र बस्ने घर फ्री दिन्छौँ, कम्पनीमा काम गर ।’ भनी जोर हालेर भन्नुहुन्थ्यो । मैले चाहिँ मानिनँ । पोहोर साल लाहोर सनातन धर्म प्रतिनिधिसभाका मन्त्रीज्यूले ‘सभामा आएर फेरि काम गर्नुस्, तपार्इंलाई अघिभन्दा बढ्ता तलब दिने छौँ ।’ भनी आग्रह गर्नुभयो तर मैले ‘हुँदैन ।’ भनी उत्तर दिएँ । यस्तै प्रकार मेरा कतिजना धनीमानी देशी मित्रहरूले कतिपटक मलाई भनिसके, ‘तपाईं हाम्रोमा आएर बस्नुहोस्, जिमिनजग्गा, गाईभैँसी जम्मै गृहस्थका सरसरजाम मिलाइदिन्छौँ, आनन्दसाथमा जीवन निर्वाह गर्नुहोस् र समयसमयमा धर्मप्रचार गरेर उपकारको काम पनि गर्नुहोस् ।’ तर मैले त्यो सुझाउ पनि मानिनँ । मेरो लगन त आफ्नै जातितिर लागेको छ, कसरी म आफ्नो परिवारको सुखआनन्दको मात्र विचार गरुँ ? पैसा कमाउने इच्छा भएको भए म किन यो धर्मप्रचारको काम गरिहिँड्ने थिएँ ? आजभोलि यस महायुद्धमा खेर गएको लाटालुरेलाङ्ग्रे पनि जम्दारसुवेदार भएका छन्, के म जाबो हवल्दारसम्म पनि हुन सक्तिनथेँ ? मेरा इष्टमित्रले पनि भनिरहन्छन्, ‘मास्टरले छोरोलाई सपार्न सकेन । आफू धर्मप्रचारतिर लागे पनि छोरालाई त अङ्ग्रेजी तालिम पढाएर कतै जागिरे बनाउनुपर्ने थियो । नभए पल्टनमा भर्ती गराइदिनुपर्ने थियो । यति समझदार मानिस भएर किन भूल गर्दै छन् ?’ चारैतिरबाट आवाज उठ्दै छ । मैले छोरालाई ‘जस्तो तेरो विचारमा आउँछ, उस्तै गर् ।’ भनी स्वतन्त्र छोडेको छु । तर उसले चाहिँ कसैको कुरा नसुनी, अनेक दुःख अपमान सही, ‘म पनि जातिसेवा नै गर्छु ।’ भनी अग्रसर भएको छ । भविष्यमा कहाँसम्म ऊ अड्न सक्छ । यस कुराको अड्कल गर्न गाह्रो छ किनभने यो धर्मप्रचारको बाटो साह्रै अप्ठ्यारो छ । यसमा अनेक प्रकारका कष्ट छन् । छोराको अहिले बुद्धि छिप्पिएको छैन, १९ वर्षको उमेर छ । अहिलेसम्म त ऊ आफ्नो योग्यताअनुसार काम गर्दै छ । यदि राम्रो सङ्गत रह्यो र जातिले उसको उत्साहलाई बढाउँदै ग¥यो भने भविष्यमा राम्रै काम गर्ला ।

मैले जीवनभरि यात्रा नै गरेँ, ठाउँठाउँमा धर्मप्रचार गरी हिँडेँ तर यस्तो यात्रापुस्तक लेख्ने प्रयास अघि गरिनँ । १३ जुलाई १९४४ मा जुन दिन गोर्खा सतसंग प्रचारिणी सभाको स्थापना भाग्सूमा भयो, श्रीमान् माननीय मास्टर नत्थुराम बिएबिटीबाट मर्जी भयो कि ‘तपाईंले एउटा डायरी लेख्नुपर्छ । ठाउँठाउँ गएर केके हुन्छ ? केके काम गर्नुहुन्छ ? सबै कुराहरूको नोट गर्नुहोला ।’ उहाँको आदेशअनुसार यो डायरी यस ढङ्गले लेख्दै छु । यो लेख्दा मनमा विचार उठ्छ कि पुरानो जीवन यात्रा वृतान्त पनि लेखूँ । सो भगवान्को इच्छा ।

१÷९÷४४ को बेलुकी बिष्ट साहेबले मलाई २० रुपियाँ दिएर भन्नुभयो कि यो कप्तान साहेबले तपाईंहरूको खर्चका लागि पठाइदिनुभएको छ । ४÷९÷४४ देखि नौतुनाको अर्को भाग कप्तान टोलमा सतसंग प्रचारकार्य सुरु भयो । सतसंगको कार्यक्रमबाहेक मैले यहाँ सुदामाभक्तको चरित्र भजन गाएर सुनाएँ । दश दिनसम्मको यो सङ्गीत, कथा सकिएपछि यहाँ पनि श्रद्धालुजनले सिदापानी दिए अनि सतसंग प्रचारिणी सभालाई ३२ रुपियाँ ८ आना दान प्राप्त भयो । १४÷९÷४४ मा थाहा लाग्यो कि बराल साहेब ज्यादै बिसञ्चो हुनाले लखनौको ठूलो मिलिट्री अस्पतालमा दाखिल हुनुभएको छ । सो समाचारले हामी सबैलाई दुखी गरायो ।

‘१९÷९÷४४ देखि नौतुनाको दशैँघरमा दुर्गा चरित्र सुनाउनू ।’ भनी बिष्ट साहेबले अनुरोध गर्नुभयो । पाँच दिनसम्म दुर्गा चरित्र गायन गरी २३÷९÷४४ मा यो कार्यक्रम समाप्त गरियो । कप्तान साहेब बरालसँग सल्लाहविचार गरी मैले लेखेका भजन, कथा, गीत, उपदेशादि पुस्तकका रूपमा गोरखपुरको कुनै प्रेसमा छापेर सतसंग सभा हुँदा बिक्री गर्दै जाउँला भनी विचार गरेको थिएँ तर उहाँको लामो बिमारीले गर्दा मेरो योजना बिग्रँदै गएको जस्तो लाग्छ । धर्मशालादेखि नौतुनासम्म आएको बाटो खर्च एक सय अड्तीस रुपियाँ छ । पैसा सतसंग प्रचारिणी सभा भाग्सू (धर्मशाला) बाट अझ आइपुगेन । मेरो पासमा भएभरिको पैसा जम्मै सिद्धिसक्यो । बूढी आमालाई तीर्थ घुमाउन भनी ल्याएको रुपियाँ अब अलिअलि गरी खर्च गर्नुपर्दै छ ।

भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नौतुनाको नजिकैमा पवित्र तीर्थस्थान छ । झण्डैझण्डै दुईअढाई कोस टाढा छ । तर आजभोलि बाटो खराब छ, ठाउँठाउँमा पानी छ भन्ने थाहा भयो र दर्शनका निमित्त केही दिनपछि जाने निश्चय ग¥यौँ । जन्मभूमि भाग्सूदेखि टाढा नौतुनासम्म आएर मुखसामनेको गोर्खा पहाडपखेरालाई देखाउन पनि जरुरी थियो । सो बिष्ट साहेबको अनुमतिले पहाडतर्फ रिडीसम्म गई गङ्गा स्नान गरी नौतुना फर्की आउने चाँजो मिलायौँ । दशैँटीकाको अघिल्लो दिन २९÷९÷४४ (बिहीबार) तदनुसार १३ असोज २००१ सम्वतमा हिँड्ने पक्का ठहरियो । सिरिफ बाटोमा चाहिने विस्तारा, लुगा, पकाई खाने भाँडा, रासन इत्यादि अलिअलि गर्दा पनि एउटा भरियाको भारी भइहाल्यो । यदि भरिया पाइएन भने यो भारी हामीले आफैँ बोकेर हिँडौँला भनी निर्णय गरियो । १३ असोजका दिन मोटरमा बसेर बटौलीतिर लाग्यौँ । नौतुनाबाट हिँड्दा मेरो गोजीमा जम्मा पच्चीस रुपियाँ थियो । पाँच रुपियाँ मोटरभाडा तिर्नुप¥यो । दश रुपियाँको मोहोर साटेँ । सो फर्किंदालाई दश रुपियाँ मात्र रह्यो । आफैँले भारी बोकेर हिँड्दा पनि रिडी यात्रा गरेर नौतुना फर्किनसम्म मलाई पुग्छ वा पुग्दैन ? परमात्मामा भरोसा राखी हिँडेँ । ईश्वरले आमालाई बल प्रदान गर्नुभो । विस्तार विस्तार ठाउँठाउँमा बिसाउँदै बत्ती बाल्ने बेलामा नुवाकोटको चौकीमा पुग्यौँ । थाकेर हलाक भएको प्राण मात्र बाँकी थियो । चौकीको हवल्दारलाई भनी चौकीमा नै बास बस्ने इरादा थियो । तर चौकीमा कोही पनि थिएन । त्यहाँ एउटी नेवार्नीको पसल रहेछ, सोधपुछ गर्दा चौकीको हवल्दार त टीका लाउन भनी हिजो गाउँमा गएका हुन्, थाहा भयो । सरकारी बन्दुक हातहतियार छोडेर, आफ्नो ड्युटीको पर्वाह नमानी जाने त्यो हवल्दार कस्ता रहेछन् छक्क लाग्यो ।

चौकीमा रात काट्ने आस पनि टुट्यो, उता तिनी नेवार्नी बहिनीले पनि बास दिन मानिनन् । रात पर्न लाग्यो । आमाले रातिमा आँखा नदेख्ने । विवश भएर झेरदीतिर ओह्रालो झर्नुप¥यो । झेरदीको पहिलो भट्टीमा बास माग्यौँ तर पाइएन । मन साह्रै दुख्यो । किन भट्टीवालाहरूले हामीलाई बास दिन मन गर्दैनन् ? यी लाहुरेहरूलाई मात्र खोज्छन् ? कारण स्पष्टै छ, जसको पासमा पैसा छ, उसको कदर संसारमा हुन्छ । हामी चामल बोकी हिँड्नेहरूबाट भट्टीवालाहरूलाई केको आम्दानी हुने ? लाहुरेहरूले रक्सी खान्छन्, कुखुरा काट्न लाउँछन् । तिनीहरू बास बसे १५ वा २० रुपियाँ झर्ने भयो । हामीलाई बास दियो भने चार मानिसको बीचमा धेरैभन्दा धेरै एक सुका पैसा पाउने भयो । सर्वशक्तिमान, सबै रोगव्याधि हटाउन सक्ने, जम्मै पापको नाश गराई स्वर्ग पु¥याउन सक्ने, मनको जम्मै इच्छा पूर्ण गर्न सक्ने साक्षात् पैसारूपी भगवान्लाई प्राप्त गर्न छाडी, धर्मकर्मको पछि किन पो लाग्थ्यो ? संसारमा मझैँ मुर्ख कुन होला ? पैसाको चमत्कार देख्दा मेरो पनि पैसातिर मन तानिन्छ । तर मनको भित्री कुनाबाट कसैले मलाई सावधान हो, भन्छ, रोक्छ । रात परिहाल्यो । आमा आत्तिन लागिन् । एउटा भट्टीमा भारी चाकरी गरेर बल्लबल्ल बास पायौँ तर यो शर्तमा कि यदि लाहुरेहरू आएछन् भने पटामा बास बस्नुपर्ला । नभन्दै केही छिनपछि लाहुरेहरू आए अनि मुनि अर्को भट्टीमा बास बसेँ । यो देखेर हाम्री भट्टीवाल्नी रिसले भुतुक्क भइन् । ‘यिनीहरूलाई देखेर यी लाहुरेहरू यहाँ बसेनन्, मलाई नोक्सान पा¥यो ।’ इत्यादि अनेक कुराहरू हामी ननिदाउञ्जेलसम्म गनगनाउँदै रहिन् ।

यसरी रात काटी १४ असोज (३० सितम्बर ४४) को बिहान त्यसै भट्टीमा भात खाएर आआफ्नो गुन्टा बोकी दोवानखोलातर्फ ओह्रालो लाग्यौँ । आमाको यौटा घुँडा ज्यादै कमजोर हुनाले ओह्रालो झर्दा तकलिफ हुन्थ्यो । विस्तार विस्तार हिँडी तीन घण्टामा बल्लबल्ल दोवान खोलामा पुग्यौँ । हिँड्दै बस्दै गर्दा बल्लबल्ल साँझ झिमझिम हुनेबेलामा मनयाक भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ एउटी नेवार्नी बूढीमाऊको घरमा बास बस्यौँ । त्यहाँ कुनै प्रकारको कष्ट हामीलाई भएन । राम्रो सत्कार भयो । १५ असोजको बिहान भातभान्सा गरेर सुस्तोविस्तो सिस्नेखोलातिर लाग्यौँ । डुम्रे र नयाँपाटीको बीचमा पुग्दा सूर्य अस्तायो । नयाँपाटीसम्म पुग्दा झमक्क राति भइहाल्ने छ । आमाले आँखा देख्न छाडिन् भने डो¥याउनुपर्ने छ, बरु यस्तै बेलामा बास बस्न पाए हुने थियो, विचार गरेर नयाँपाटीको वरै खोलाको छेउमा एक भट्टीमा बास माग्दा बास दिएनन् । विवश भई नयाँपाटीतर्फ बढ्दै गयौँ । बाटोबाटै दाउरा पनि खोज्दै गयौँ । नयाँपाटी पुग्दासम्म राति भइहाल्यो । एउटा थकाल्नी बहिनीले हामीलाई बास दिइन्, राम्रो आदरसत्कार गरिन् ।

१६ असौज (१ अक्टोवर ४४) को बिहान त्यसै भट्टीमा भातभान्सा गरी बाटोमा मैलिएका लुगाहरू फुकाली सफा लुगा फे¥यौँ । भाँडाविस्तारा पनि बाँधेर त्यहीँ छाड्यौँ । तानसिङ नयाँपाटीबाट एक कोस छ । मेरो मित्र मेजर भूपेन्द्रविक्रम तनासिङको जङ्गी अड्डामा हुनुहुन्छ । उहाँकै आश्रयमा गुन्टा त्यहीँ भट्टीमा…..

नोटः श्री पूज्य पिताजीले यहाँसम्म लेख्दै हुनुहुन्थ्यो । उहाँ अचानक बिसन्चो हुनुभयो, लेख्दालेख्दै चट्ट छोड्नुभयो । छाडेको छाडै पार्नुभो । अन्त १÷१०÷४४ देखिन् उहाँको मृत्युकाल (९÷४÷४६) सम्मको यात्रा–डायरी छोटकरीमा लेख्दै छु ।

– दिग्विजय सेन ‘प्रदेशी’

त्यहीँ भट्टीमा गुन्टा राखी हामीहरू नयाँपाटीको फाँटको बाटो, त्यहाँको हरियो सुन्दर दृश्यलाई हेर्दै तानसिङको उकालो चढ्यौँ । तकरीवन चार बजे साँझ बाबुसाहेब मेजर भूपेन्द्रविक्रमज्यूका भवनमा पुग्यौँ । श्री भूपेन्द्रसमेत उहाँको जहानपरिवारले हाम्रो स्वागत गरे । उहाँले हाम्रो गाँसबासको असल व्यवस्था मिलाइदिनुभयो । चार दिनजति आराम गर्नाले बाबालाई निकै स्वास्थ्यलाभ पुग्यो । ५ अक्टोबर २०४४ मा बिहानै ६ बजे हामीहरू रिडी जान भनी तयार भयौँ । बतासेडाँडा, चुतरा भञ्ज्याङ, कुरुङखोलाको बाटो हुँदै तीन बजे अर्घेली पुग्यौँ । अर्घेलीबाट ओह्रालो झरी साढे पाँच बजेतिर रिडीको प्रसिद्ध देवमन्दिर ऋषिश्वरको धर्मशालामा पुग्यौँ । रिडीको चारैतर्फ पहाड हुनाले त्यहाँ छिट्टै रात पर्छ । हामी पुग्दा साँझ परिसकेको थियो । त्यही धर्मशालाको एक कुनामा डेरा जमायौँ । धर्मशाला ह्वाङ्ह्वाङ्ती थियो, ढोकाझ्याल नभएको । पास पसलबाट एकुन्टा गिलास चिया खाएर दिनभरि हिँडेको थकान मेट्यौँ । केहीपछि तानसिङबाट नै पकाएर ल्याएको खानासाना खाएर ओछ्यान गरी त्यहीँ भुइँमा लड्यौँ । कृष्णगण्डकीको सामुन्नेमा खल्लबल्ल गर्दै बगिरहेको मधुर आवाज तर मुटुसम्म छेड्ने चिसो बतास दुवैको आस्वादन गरी रात काट्यौँ । बिहानपख घामले अलि न्यानो गराएपछि गण्डकीमा नुहाउन भनी गङ्गाछेउमा गयौँ । स्नान आदि गरी फर्किंदा बाटोमा एकजना मानिसले बाबालाई चिनेछन् । एकछिनमा सारा रिडीमा लौ मास्टर मित्रसेन परिवारसमेत यहाँ आउनुभएको छ भन्ने खबर फैलियो । धर्मशालामा पुगी हामीहरू चिया खाँदै थियौँ, त्यत्तिकैमा रिडीका प्रसिद्ध मानिस दुर्गा शाह र त्यहाँका जनता स्वागतका निम्ति हामीनेर आइपुगे । गण्डकी नुहाएर आजै तानसिङ फर्किने विचार थियो । तर रिडीका जनताको आग्रहले एक महिनासम्म त्यहाँ बस्नुप¥यो । कात्तिक एकादशीमा रिडीमा ठूलो जात्रा निस्किन्छ, त्यतिबेला ऋषिश्वर तीर्थ महात्म्य विषयमा एउटा नाटक तयार पारिदिनुहोस् भनी सबैले बाबासँग अनुरोध गरे । बाबाले केही पौराणिक तथ्यका आधारमा एउटा नाटक लेख्नुभयो । रिहर्सल सुरु भयो । नाटकको मुख्य रोल बाबाले आफैँ अदा गर्नुभयो । नाटकको पहिलो शो रिडीबजारमा अनि दोस्रो शो ऋषिश्वर मन्दिरमा एकदमै राम्रो प्रकारले सम्पन्न भयो । जनताको फर्माइसलाई पूरा गर्नका निम्ति अघिल्लो रोज पनि धुमधामसँगले ऋषिश्वर मन्दिरमा एक शो अझ भयो । नाटकको कार्यक्रम सकेपछि रिडीका जनतासँग बिदा माग्यौँ । यसरी एक महिनापछि तानसिङ फर्कियौँ । तानसिङमा एक हप्ताजति बसी नौतुना फर्की आयौँ । बाबु साहेब मेजर भूपेन्द्रविक्रमज्यूले हाम्रो सुविस्ताका लागि दुई जना भरियाहरूको व्यवस्था मिलाइदिनुभयो ।

डिसेम्बर ४४ को पहिलो सप्ताहमा नौतुना फर्की आएपछि तीनचार दिन आराम गरेर बस्यौँ । त्यसपछि नौतुनाको रैकरुटिङ अफिसरको सामुन्ने फेरि सतसंग प्रचार कार्यक्रम साथसाथै बाबाले भक्त अम्बरिषको कथा गायन रूपमा सुन्दर प्रकारले जनतालाई सुनाउन सुरु गर्नुभयो । बीचबीचमा उहाँले नैतिक र सामाजिक विषयमा पनि व्याख्या दिनुहुन्थ्यो । कहिले झ्याउरे लयमा हँसाउने खालका गीत गाएर घत लाग्ने कुराहरू सम्झाउने यत्न गर्नुहुन्थ्यो । यो कार्यक्रम गर्दागर्दै सन् ४४ बित्यो अनि ४५ लाग्यो । नयाँ सालको सुरुमासमा अल इन्डिया ब्रोडकास्टिङ रेडियो स्टेशन, दिल्लीबाट रेकर्डिङका लागि बाबालाई बोलाइपठाए । ‘आमा र बज्यैको ख्याल राख्नू अनि सतसंगको कार्यक्रमलाई नियमित रूपले चलाउँदै रहनू ।’ बाबाले मलाई आदेश दिनुभो । बाबाको सेवा, सहायता र सुविस्ताका लागि बाबु जसबहादुरज्यूले आफ्नो छोरालाई साथमा पठाउनुभयो । दिल्ली र लाहोरमा गई रेकर्डिंङ आदिको काम सिद्धिएपछि बाबा तीन सप्ताहबात नौतुना फर्की आउनुभयो अनि सतसंग प्रचार आदिको जिम्मेदारी उहाँले आफैँ सम्हाल्नुभयो । सन् १९४५ अगस्त मासको आधासम्म नौतुना अनि कुँडाघाट (गोरखपुर) मा कथा, सङ्गीत, व्याख्यान, भजन, सतसंग कार्यक्रम सुचारुरूपले चलि नै रहेको थियो । बाबाले फुर्सद पाएमा निबन्ध, कविता, नाटक, गीत आदि पनि धमाधम लेखिबस्नु हुन्थ्यो । आमाजी सख्त बिमार हुनुभयो । गोरखपुरको नामी डाक्टरसँग जाँच गराउँदा उहाँले आमालाई दुईचार महिनाका लागि हावापानी बदली गर्नका निमित्त पहाडतिर लिई जाऊ भनी सल्लाह दिनुभयो । बज्यैले भाग्सू फिर्ता हुन्छु भन्नुभो । कप्तान साहेब बरालज्यू अनि सुवेदार साहेब बिष्टज्यूका सरसल्लाहले बजैलाई भाग्सू फिर्ता पठाउने बन्दोबस्त गरियो अनि हामी तीन जना (बाबा, आमा र म) शिलाङ जाने आँट भयो । भारतस्थित जम्मै गोर्खाली पल्टनहरूमा बाबाको उहिलेदेखि नै राम्रो चिनजानी र आनाजाना थियो । त्यसकारण शिलाङका सबै गोर्खालीहरूले बाबालाई राम्ररी चिन्थे ।

१९ अगस्त ४५ को साँझ हामी रेलमा बसी गोरखपुरदेखि शिलाङतर्फ हिँड्यौँ । २२ अगस्तमा गोहाटी पुग्यौँ तर हाम्रो सामान असबाब ढिलो पुगिदिएकाले २५ अगस्तको साँझ मात्र हामीहरू मोटरबाट हिँड्यौँ । बिहान भात खाएर मौप्रेम गाउँमा गयौँ । श्री देवसिंह जोशी अनि श्री लोकनाथज्यूसँग हाम्रो भेटघाट भयो । उहाँहरूले हाम्रो बासगाँसको असल व्यवस्था मिलाइदिनुभयो । आमाको इलाजपट्टि विशेष ध्यान दिए तापनि बाबाले आफ्नो सतसंग प्रचार कार्यक्रम हामी पुगेको तीनचार दिनपछि सुरु गरिहाल्नुभयो । पहिलो प्रोग्राम ठाकुरबाडीमा भयो, एक सप्ताहसम्म । त्यसपछि दुई सप्ताहको कार्यक्रम पाठशालामा राखियो । अब केही नाटक तयार पारिदिनुहोस् भनी त्यहाँका भला आद्मीहरूले बाबासँग अनुरोध गरे । प्रभुभक्ति नाटकको रिहर्सल बाबाको निर्देशनमा आरम्भ भयो । बाबाले आफँै सिनसिनरी (पर्दाहरू) चित्रकारी गरी बनाई तयार पार्नुभयो । सबै तयारी पूरा भइसकेपछि दुई दिनसम्म खुबै धूमधामसँगले यो नाटक त्यहाँ देखाइयो । बाबाले हार्माेनियम बजाउनुभयो अनि मैले तबला ।

शिलाङको ओसिलो हावापानी र नियमित इलाजले आमाको बिमारी काफी ठिक भयो । अतः ११ नोभेम्बर १९४४ मा शिलाङदेखि तेजपुर, शिलघाटतर्फ जाऔँ भनी गोहाटी आयौँ । राति आठ बजेमा हाम्रो स्टीमर हिँड्न थाल्यो । रातभरि दिनभरि त्यसमा सफर गरी १२ नोभेम्बरको साँझमा तेजपुर पुग्यौँ अनि राति एक बजेमा शिलघाट पुग्न सक्यौँ । त्यहाँ उत्रियौँ र ब्रह्मपुत्रको किनारा जङ्गलको बीचमा रात काट्यौँ । तर मञ्जिल अझ टाढा छ । बिहानपख एउटा डुङ्गामा बसी दिनभरिको सफर तय गरी राति आठ बजे हामीहरू आफ्नो मञ्जिलमा पुग्न सफल भयौँ । यो सफर अत्यन्तै कष्टदायक थियो । घोर जङ्गलभित्रको गाउँमा पुग्दा त्यहाँ बस्ने गोर्खालीहरूले हाम्रो खुब आदरसत्कार गरे । बाबाले सतसंग प्रचारको कुरा गर्दा ‘हामीहरू यहाँ बस्ने जम्मै गोर्खाली राधास्वामी मतका अनुयायी छौँ ।’ भनी भने । अतः चारपाँच दिन बसी तेजपुर फर्की आयौँ ।

तेजपुर पुग्दा बाबा अलि बिरामी हुनुभयो । तेजपुरमा दुई दिन बसी गोरखपुर फर्की आयौँ । केही दिन आराम गरी डिसेम्बर ४५ को पहिलो सप्ताहदेखि बाबाले सतसंग प्रचार कार्यलाई खुब जोश र उत्साहका साथमा फेरि थाल्नुभयो । निभ्न लागेको बत्तीजस्तै एकछिन झलल उज्यालो पारी विस्तारविस्तारै प्रकाश मन्द हुँदै गयो । बाबाको शरीर दिनदिनै सुक्दै गयो । कप्तान साहेब बरालज्यू, सुवेदार साहेब बिष्टज्यू अनि नौतुना र गोरखपुरका जम्मै भला आद्मीहरू चिन्तामा परे । बाबाको असल इलाजका लागि उनीहरूले केही कसर बाँकी राखेनन् । गोरखपुरको नामी डाक्टर जसवाल साहेबले बाबाको राम्ररी जाँच गरे । खुन टेस्ट, थुक टेस्ट, छातीको एक्सरे आदि सबैथोक गरे । तर रोगको पत्तै लाग्न सकेन । डाक्टर साहेब पनि छक्क परे । बाबाको हालत दिन प्रतिदिन झन्झन् खराब हुँदै गयो । अन्तत साह्रै हतास भएर भारी मुटुले बाबाले सतसंगको कार्यक्रमलाई अब स्थगित गर्नुप¥यो भन्ने विचार प्रकट गर्नुभयो । कप्तान साहेब बरालज्यू अनि सुवेदार बिष्टज्यूले पनि अब तपाईंहरू भाग्सू फर्किनुहोस् भन्ने सल्लाह दिनुभयो । २१ मार्च १९४६ का दिन बाबा, आमा र म नौतुना गोरखपुरको सतसंग धर्मप्रचार कार्यलाई बीचैमा छाडी रेलबाट भाग्सूतर्फ हिँड्यौँ ।

२४÷३÷४६ मा हामी घर (भाग्सू) फिर्ता पुग्यौँ । बाबालाई ज्वरोले छाडेन । ज्वरो १०३ डिग्रीसम्म रोजै चढ्ने अनि बेलुकी उत्रने । पल्टनका सरकारी डाक्टरलाई बोलाई बोलाई इलाज गर्न लगायौँ तर केही लाभ पुगेन । अन्ततः ९ अप्रेल १९४६ बुधबार चैते दशैँताका राम नवमीका दिन बाबाले यो नश्वर शरीरलाई त्याग गर्नुभयो । शरीर छाड्नुभन्दा केही छिनअघि मलाई भन्नुभयो ‘तँ अब टाठोबाठो भइसकेको छस्, आमा र बज्यैको ख्याल राख्नू अनि सतसंग धर्मप्रचार कार्यलाई जहाँसम्म हुन्छ चलाइ नै राख्नू ।’

 मास्टर मित्रसेन, मित्रको डायरी, १९८४ दोस्रो संस्करण (पेज १– २०), मित्रसेन साहित्य सङ्गीतसभा, ग्राम दाडी धर्मशाला, काँगडा, हिमाञ्चल प्रदेश ।

(विजय हितानद्वारा उधृत ‘मास्टर मित्रसेन र उनका सिर्जना’ (पृष्ट ९३– १११) बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *