साउने सङ्क्रान्ति

साउने सङ्क्रान्ति

डा. मीन श्रीस मगर

सूर्यको अयन (solstice) अर्थात गति/मार्ग उत्तरायण र दक्षिरायण दुई प्रकारको हुन्छ । साउने सङ्क्रान्तिदेखि सूर्यले कर्कटरेखा (tropic of cancer) बाट दक्षिण मकररेखा (tropic of capricorn) तर्फको यात्रा प्रारम्भ गर्दछ भने माघे सङ्क्रान्तिदेखि उत्तर कर्कटरेखातर्फको यात्रा प्रारम्भ गर्दछ । त्यसकारण साउने र माघे सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति वा अयन चाड (solstice festival) भनिन्छ । साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिरायण हुने (उँधोतिर लाग्ने) भएकाले गृष्म/वर्षा याम (summer season) समाप्त भएर हिउँद याम (winter season) अर्थात उँधौली शुरु भएको मानिन्छ । साउने सङ्क्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिको सबैभन्दा लामो दिन, छोटो रात र बढी गर्मी हुन्छ । त्यसपछि सूर्य दक्षिरायण हुने भएकाले दिन छोटो, रात लामो हुने र तापक्रम घट्दै जाने क्रम शुरु हुन्छ । यो समयमा वर्षात र गर्मीले गर्दा एकातिर झारपात, बोटविरुवा र झाडीका साथै सर्प, विच्छी जस्ता विषालु किराहरूको बृद्धि हुन्छ भने अर्कोतर्फ घाउखटिरा र रोधव्याधीले सताउने गरेको हुन्छ । आगोले एकातिर विषालु किरा र हिंस्रक जन्तुहरूलाई धपाउन मद्दत पुर्याउँदछ भने अर्कोतर्फ खेतीपातीको काम गर्दा वर्षातमा भिजेको शरीरलाई न्यानो प्रदान गर्दछ । वर्षातको समयमा सबैतिर जलमग्न हुने भएकाले आगोको महत्व बढी नै हुन्छ भने साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिरायण हुने भएकाले जाडो बढ्ने क्रम शुरु हुन्छ । त्यसकारण प्रतिकात्मक रुपमा राँको फालेर अग्नी देवता (आगो) को पूजाआराधना गरी साउने सङ्क्रान्ति मनाउने चलनको विकास भएको बुझिन्छ । साउने सङ्क्रान्ति उँधौली यामको पहिलो चाड हो ।

साउने सङ्क्रान्तिको साँझपख घरघरबाट बलेको अगुल्टो फ्याक्ने चलनलाई राँको फाल्ने वा लुतो फाल्ने भन्ने गरिन्छ । वर्षाकालमा जताजतै हिलाम्य फोहर हुने र खेतीपातीको कामले गर्दा व्यक्तिगत सरसफाईमा ध्यान दिन पनि नभ्याइने हुँदा लुतो जस्ता चर्मरोग लाग्ने र घाउखटिरा हुने सम्भावना बढी हुन्छ । साउने सङ्क्रान्तितिर खेतीपाती लगाउने काम लगभग सकिने बेला भएको हुन्छ । त्यसकारण अब घरआँगन र आफ्नो शरीर सफा गरेर फोहरमैला फालौँ भन्ने आह्वानको संकेत स्वरुप लुतो फाल्ने चलन विकास भएको हो । लुतो फाल्ने वा राँको फाल्ने विधि गर्दा पानीसरो, देवीसरो, कुकुरडाइनो, कुरिलो, भलायो, धर्सिङघर, सिरु, साउनेआरु, सिउँडी जस्ता आयुर्वेदिक वन औषधीलाई सल्लाको अगुल्टोमा धुँवाएर लुतो लैजा भन्दै चारै दिशामा अगुल्टो फाल्ने गरिन्छ । यी वनस्पतिहरूमा घाउखटिरा जस्ता चर्मरोग निकोपार्ने औषधीय गुण हुने भएकाले नै प्रयोगमा ल्याइएका हुन् ।

मगर समाजमा मनाइने हरेक चाडवाडहरूमा झैं साउने सङ्क्रान्तिमा पनि गीतसंगीत र नृत्य जोडिएर आएको पाइन्छ । यो चाडमा अग्नी जगाउने (राँको फाल्ने) र मादल फुकाउने विधि सम्पन्न गरिन्छ । खासगरी वैशाख, जेठ र असार तीन महिना नाचगान बन्द गरिन्छ । वैशाख पूर्णिमाको दिन चण्डी (वर्षातकी देवी) को पूजा गरी घाटु नचाइने भए पनि मादलको प्रयोग नगरी शान्त र शालीन गीतिनृत्य प्रस्तुत गरिन्छ । यो समयावधिमा एकातिर चराचुरुङ्गीले कोरल्न बस्ने र बच्चा हुर्काउने भएकाले प्रकृतिलाई शान्त राख्नुपर्ने मान्यता रहेको छ भने अर्कोतिर वर्षे खेतीपातीको काममा व्यस्त हुनपर्ने भएकाले नाचगान गरिदैँन । असारको अन्त्यतिर वर्षे खेतीपाती लगाउने काम लगभग सकिएको हुन्छ । त्यसकारण नाचगान गर्न र चाडवाड मनाउनलाई केही अनुकूल हुने भएकाले साउने सङ्क्रान्तिमा मादल फुकाउने विधि गरिन्छ । खासगरी गुर्जु (मारुनीको गुरु) को घरमा भेला भएर पाती, मकै आदिको लिङ्गो गाडेर मादल लगायतका बाजाहरूमा रातोसेतो ध्वजा बाँधी दुबोपाती चढाएर पूजा गरे पश्चात गुरुबाट वन्दना धून बजाइन्छ । मारुनीको बन्दना गीत गाएपछि गर्राभाइले मादल ढोग्ने गर्दछन् । यसरी विधिवत मादल फुकाएपछि सबै प्रकारका गीतनृत्य प्रस्तुत गर्न खुला भएको मानिन्छ । साउने सङ्क्रान्तिपछि तापक्रम घट्दै जाने भएकाले उँधौली यामका गीतसंगीत र नृत्यहरू जोसजाँगर भर्ने फूर्तिला खालका हुन्छन् । मारुनी, ठाडोभाका, सरङ्या स्याइ (युद्धको अभिनययुक्त नाच), भूम्या स्याइ जस्ता कुर्लेर गाउने गीत, घन्केर बज्ने डम्फू–मादल–दमाहा र उफ्रेर नाच्ने नाचहरू प्रस्तुत गरिन्छ, जसले गर्दा जाडोमा कठाङ्ग्रीएको शरीरमा न्यानोपना र जाँगर भरिदिन्छ । पहिला–पहिला मगरात क्षेत्रमा मारुनी र घाटु ननाच्ने गाउँमा छोरी नदिनू भन्ने गरिन्थ्यो । किनकी खासगरी असोजदेखि मंसिरसम्मको अवधिमा जन्म, भातख्वाई, घरपैंचो जस्ता उत्सवहरूमा मारुनी नचाएर आशीर्वाद दिने चलन रहेको छ ।

रुकुम–रोल्पातिर साउने सङ्क्रान्तिलाई ‘साउनी’ भन्ने गरिन्छ । उनीहरूले यो चाडमा गहुँको पीठोको सर्प, छेपारो, भ्यागुतो, बिच्छी, बाला आदि आकारका रोटी पकाई गाउँका देवदेवीलाई चढाउने गर्दछन् । जाडो याममा आफ्नो शरीरको तापक्रम स्थिर राख्न नसक्ने (poikilothermous or cold blooded) जीवहरू जमिनमुनि गुफा पस्ने हुँदा तिनीहरूको आकृति बनाएर जीवन रक्षाका लागि पूजा गरिन्छ । पर्यावरणीय सन्तुलन कायम राख्न र मानव जातिका लागि यी जीवहरू महत्वपूर्ण सहयोगीका रुपमा हुन्छन् । यसरी जीवजन्तु र प्रकृतिको पूजा गरेपछि अनुहारमा माहोर (रंगीविरंगी टीका) लगाउने, दुवोपाती सिउरिने, राँको फाल्ने र मादल फुकाएर सरङ्या नाच्ने गरिन्छ । साँझपख आफ्ना परिवार र गाईको संख्या जति छन् त्यति नै सल्लाको दियालो बालेर मानिसको लागि आँगनमा तथा गाईको लागि गोठमा राख्नेर सबैको रोगभोग लैजा भनी बारी कटाइ अगुल्टो फाल्ने गर्दछन् ।

नुवाकोट जिल्ला बेलकोटका मगरहरूले साँझपख देवीथानमा राँको फाल्ने सामाग्री राखेर बोका बलि चढाएपछि राँको फाल्ने गर्दछन् । त्यसपछि मात्र घरघरबाट राँको फाल्ने गरिन्छ । कर्णालीतिरको बस्तीहरूमा घर–घरका सबै परिवारिक सदस्यहरूले देवदार वा सल्लाको दाउराको राँको बालेर रोगव्याधी फोहर सबै जाओस् भनेर चिच्याउँदै फाल्ने गर्दछन् । धादिङतिर सल्लाको अगुल्टोमा धर्सिङघरे वा कुकुरडाइनो फड्काएर नाङ्लो ठटाउँदै वारि गाउँ, पारि गाउँ, तल्ला गाउँ, माथिल्ला गाउँ लुतो लैजा भन्दै फ्याक्ने र भोलिपल्ट लुतो सर्ने विश्वासले खेतबारीमा कोही नजाने चलन पाइन्छ । डोल्पाली मगरहरूले साउने सँरात नामले मनाउने गर्दछन् । साउने सँरातको विहान दियालो (छिप्पिएको खोटे सल्लोको काठ) चिरेर तयार पारिन्छ । हिमाली भेग डोल्पाका घरहरूमा दुईपाखे छानो नभएर ढुङ्गा र माटो छापेको समथर छाना हुने भएकाले साँझपख छानाको चारै कुनामा गोबरले लिपेर बलेको दियालो राखिन्छ । बलिरहेको दियालो अर्थात राँकोमा भाले काटेर रगत छर्किने गरिन्छ । यसो गर्नुको उद्देश्य रोगव्याधी तथा अनिकाल हटाउन र सहकाल ल्याउनका लागि प्रकृति र पितृदेवहरू समक्ष आह्वान गर्नु हो (बुढामगर र घर्ती मगर, २०७१: १७१) । पाल्पा, स्याङ्जा र तनहूँतिरका मगर गाउँहरूमा साउने सङ्क्रान्तिको विहानै भलायो, कुश, सिउडी आदि ढोकामा घुसार्ने र साँझपख चारै दिशामा एकएक वटा अगुल्टो फाल्ने गर्दछन् । यसरी राँको अर्थात लुतो फालेपछि युवायुवतीहरू भेला भएर झाम्रे बस्ने गर्दछन् (बराल मगर, २०५०: ११८) । राती सुत्नु अघि हातखुट्टामा तिउरी (एक प्रकारको वनस्पति जसलाई थिचेर हातखुट्टामा लगाई रातभर राखेपछि विहान रातो दाग बसेको हुन्छ) लगाउने गरिन्छ । यसले घाउखटिराको संक्रमण नियन्त्रण हुन्छ ।

वागलुङको गलकोट खुवाक्षेत्रमा ताराखोलाका मगरहरूले असार २२ गतेदेखि तथा अर्गल र हिलका मगरहरूले असार मसान्तदेखि साउन २ गतेसम्म यो चाड मनाउने गर्दछन् । ताराखोलामा असार २२ गते मूलघर (ढ्याङ्ग्रो राख्ने घर) मा जौंको जमरा राखेपछि यो चाडको औपचारिक रुपमा थालनी भएको मानिन्छ । त्यसपछि घरघरमा लिपपोट तथा सरसफाईको कार्य गरिन्छ । बलिपूजाको कार्यक्रम भने असार महिनाको अन्तिम हप्ताको सोमबार पारेर गर्ने चलन रहेको छ । सिमेभूमे र कुलपितृका नाममा फूलप्रसाद, धूपदीप र राँगो बलि चढाइन्छ । अर्गल गाउँमा असार मसान्तका विहान आ–आफ्ना थरका मूलघरमा भेला भई कुखुरा वा बोकाको बलि दिएर मसान्ती पूजा गरिन्छ । साउने सक्रान्तिको विहान गोठपूजा (देवाली गैडुपूजा) गर्ने ठाउँमा आ–आफ्ना आफन्तहरू भेला भएर भूइँमा गोबरले लिपपोत गरी आफूले मान्दै आएका देवदेवी एवं पितृहरूलाई धूप, ध्वजा, जल, दूध, खिर आदि प्रसाद चढाइन्छ । सोही समयमा आ–आफ्नो कोदो बारीमा हरेलो पूजा पनि गरिन्छ । यो दिनदेखि साउन दुई गतेसम्म गाउँमा खेतीपाती तथा खनजोतको कुनै पनि कार्य गरिदैन । असार मसान्तमा पिङ थाप्ने लिङ्गो काट्न वनमा जाने कार्यक्रम हुन्छ । वनमा गएर पिङ थाप्ने लिङ्गो काट्नु अघि फेंदमा (लिङ्गो बनाइने वृक्ष उत्तिस/सेडे/दब्दबेको फेंदमा) माउ तन्नेरीले पिङ सुरक्षित बनोस् भनेर जमरा, धूपध्वजा राखेर पूजा गर्दछन् । युवाहरूले वनबाट पिङ बनाउने लिङ्गो, फुर्से र गोफ्लाको लहरा लिएर फर्केपछि युवतीहरूले उठाएको खट्टे (रोटी, रक्सी, खट्टे आदि परिकार) ल्याइन्छ । माउतन्नेरी र तरुनी (कन्यf वा विवाह भएको वर्ष दिन ननाघेको नाइके तन्नेरी र तरुनी) ले खट्टे पितृदेउतालाई चढाएरपछि सबैले प्रसादको रुपमा खान्छन् । त्यसपछि गाउँका मान्यजन तथा बूढापाकालाई खट्टेको प्रसाद घरघरमा पुर्याइन्छ । साउन एक गते घरमुलीले विहानै उठेर नुहाइधुवाई गरेर पितृको नाउमा माघेको पातमा सुकुटी, घिउमा फुराएको चामल राखेर अगेनाको नजिक र छानामा घुसार्ने गर्दछन् । त्यसपछि चेलीवेटीलाई टीका लगाइदिएर दक्षिणा दिने गरिन्छ । माइती नआएका चेलीलाई चामल र पैसा घरमै पुर्याइदिने गरिन्छ । साउन एक र दुई गते घरघरमा आफ्ना चेलीवेटीहरू बोलाएर मीठोचोखो ख्वाउने गरिन्छ । यो चाडको अवसर पारेर मूल तरुनीतन्नेरी चयन गर्ने कार्य पनि सम्पन्न गरिन्छ । साउने सङ्क्रान्ति मनाउन मासुका लागि गाउँटोलमा सुँगुर, राँगो, भैसी, खसी आदि काट्ने गरिन्छ । जमरा लगाउने, पिङ खेल्ने, मारुनी नचाउने, पितृ एवं भूमिको पूजा गर्ने, खिर र आलुको भुजुरी खाने र चेलीवेटी ख्वाउने यो चाडका प्रमुख विशेषताहरू हुन् । मोहनी बाजा (निगालोको नलीमा मुरलीमा झैं प्वाल पारेर एकातर्फ पेपरा राखेर मुखले फुकी सहनाइ झैं बजाइने बाजा), डम्फु र मादलका साथ सुनिमया, यानीमया र झाम्रे गाउने नाच्ने गरिन्छ । यो चाड मनाउने अवधिभरि गाउँमा कसैले पनि खेतीपातीको काम गर्न, फलफूल, कण्डमुल र वनका घाँसदाउरा संकलन गर्न नहुने मान्यता पाइन्छ । यस अवधिमा खेतवारी र वनजंगललाई पूर्णत प्राकृतिक अवस्थामा रहन दिइन्छ । यसो गर्दा केही समयका लागि भए पनि प्राकृतिक वातावरण माथिको मानवीय हस्तक्षेप रोकिन्छ र पर्यावरणीय सन्तुलनमा मद्दत पुग्नजान्छ । यो चाड सकिएपछि गाईको पजनी (गाई चरन) खुल्ला गरिन्छ ।

अधिकांश गाउँबस्तीहरूमा साउने सङ्क्रान्तिमा राँको फाल्ने गरिन्छ भने डोल्पाली मगरहरूले राँको बाल्ने गर्दछन् । तर वागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले राँको बाल्ने वा फाल्ने गर्दैनन् । राँको फाल्ने हुनाले यो चाडलाई राङ्क्या तिह्वार वा राँखेचाड पनि भन्ने गरिएको पाइन्छ । साउन महिनामा मनाइने भएकाले ‘साउनी’ पनि भन्ने गरिन्छ । धेरैजसो मगर बस्तीमा साउने सङ्क्रान्तिको साँझ झांक्री (रमा/लामा) बसेर आगामी दिनको (वर्षभरिको) शुभअशुभ, रोगव्याधी, अन्नबाली, स्वास्थ्य स्थिति आदिका बारेमा भविष्यवाणी गर्ने तथा व्यक्तिगत ग्रहदशा पनि विचार गरिदिने चलन पाइन्छ । रुकुमको काक्री लुगुम गाउँमा साउन एकदेखि तीन गतेसम्म झांक्रीमेला लाग्ने गर्दछ । कुखुराको बलिपूजा गरेर तान्त्रिकमन्त्र र ढ्याङ्ग्रोको तालमा झांक्री र झांक्रीको भान्जा नाच्ने गर्दछन् । त्यसकारण यो भेगमा साउने सङ्क्रान्तिलाई झांक्रीमेला पनि भन्ने गरिन्छ । गण्डकी प्रश्रवणक्षेत्रमा साउने सङ्क्रान्ति पछि साउन पन्ध्रसम्म कुनै पनि किसिमको मनोरञ्जनात्मक कार्यक्रम (नाच्ने, गाउने, बजाउने) गर्न, पूजाआजा वा झारफुक समेत गर्न बन्देज लगाउने चलन रहेको छ । खेतीपाती लगाउने काममा व्यस्त रहनुपर्ने तथा लगातार वर्षात भइरहने हुनाले नियम राखिएको हुनसक्छ । तर रुकुमतिरका मगर गाउँमा भने साउने सङ्क्रान्ति चाडको दिनदेखि ढुङ्गा र तरवारको धारलाई छोएर कसम खाई नचारु नाच शुरु गरिन्छ । हरेक साँझ आ–आफ्नै गाँउटोलमा नाचिन्छ र मंसिरको बाह्र गते छिमेकी गाँउटोलमा गएर नाच्ने नाचिन्छ । पुस महिनाभरि छिमेकी गाँउटोलमा गएर नाचेपछि मसान्तको दिन विशेष कार्यक्रम गरी माघे सङ्क्रान्तिका दिन नाच समापन गरिन्छ । यसरी नचारु नाच छ महिनासम्म नाच्ने अनौठो परम्परा पाइन्छ (गौतम, २०६८: ११) ।

आफू बसेको भूगोलको प्राकृतिक पर्यावरण अनुरुप आफूलाई पनि अनुकूलन गराउने क्रममा मानिसहरूले विभिन्न खाले चाडवाडहरूको विकास गरेको पाइन्छ । साउने सङ्क्रान्ति चाड मनाउने विधि र प्रक्रियाहरूले मानव र प्रकृति वीचको अन्वन्याश्रिक सम्बन्धलाई प्रष्ट्याएको पाइन्छ । अग्नी जगाएर राँको फाल्नु तथा चर्को र फुर्तिलो गीतसंगीतनृत्यको थालनी गर्नुले जाडो मौसमबाट बच्ने प्राकृतिक उपायको खोजीलाई दर्शाउँछ भने जाडोबाट बच्नका लागि जमिनमुनि गुफा पस्ने भ्यागुतो, बिच्छी जस्ता जीवहरूको सुरक्षाका निम्ति पूजा गर्नु तथा चाड मनाउने अवधिभर खेतवारी एवं वनजंगलमा काम नगर्नुले मानवीयता र वातावरणीय सन्तुलनको उच्च चेतनालाई झल्काउँदछ । तिउरी, भलायो आदि औषधीय वनस्पतिको प्रयोग, स्थानीय देवदेवी र कुलपितृको स्मरण गर्ने तथा झांक्री बस्ने परम्पराले लुतो, घाउखटिरा जस्ता रोगव्याधी, विकार र विकृतिहरूलाई पन्छाउने, अन्नबाली जोगाउने उद्देश्यले अपनाइएका मानव सभ्यताका प्रारम्भिक चरणका उपायहरू र झांक्रीवाद तथा जीवात्मावादमा आधारित विश्वासलाई झल्काउँदछ । उँधौली यामको पहिलो चाड साउने सङ्क्रान्ति मनाउने चलनको विकास पशुपालन र कृषि युगको थालनीसँगै भएको बुझिन्छ । वर्षा यामको झरीबादल र कामको व्यस्तताबाट क्षणिक विश्राम लिने र थाकेको शरीरलाई आराम दिने उद्देश्यबाट साउने सङ्क्रान्ति मनाउने चलन शुरु भएको हो । अहिले पेशामा आएको परिवर्तन र बसाइँसराइँका कारण परम्परागत साउने सङ्क्रान्ति चाडको महत्व र आवश्यकता कमजोर हुँदै गएको देखिन्छ ।

सन्दर्भ सामाग्री–सूची

गौतम, कृष्णप्रसाद. (२०६८ पुस १०). ६ महिनासम्म नृत्य. कान्तिपुर, पृ. ११ ।

बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति. काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

बुढामगर, भोजविक्रम र घर्तीमगर, श्यामप्रसाद. (२०७१). काइकेमगरको भाषा, संस्कार र चाड. सम्पा. यमबहादुर पुन र झकेन्द्र घर्तीमगर. मगर जातिः ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (पृ. १४९–१७५). काठमाडौं: मगर प्राज्ञिक समूह ।

श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *